काठमाडौं । नेपाल प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही सिनियर प्रहरी अधिकृतहरूको काज तथा सरुवासम्बन्धी विषयलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित भइरहेका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित प्रहरी अधिकृतहरूको काज तथा सरुवा मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८३ असार १८ र १९ गतेको पत्रअनुसार प्रचलित कानुनी व्यवस्था र स्थापित प्रशासनिक प्रक्रिया बमोजिम गरिएको स्पष्ट पारेको छ ।
विज्ञप्तिअनुसार उक्त काज तथा सरुवा कुनै विशेष घटना, अनुसन्धान, उजुरी वा अन्य विवादसँग सम्बन्धित नभई नियमित कर्मचारी व्यवस्थापनको सिलसिलामा गरिएको नियमित प्रशासनिक प्रक्रिया हो ।
नेपाल प्रहरीले आधिकारिक जानकारी बिना अनुमानका आधारमा समाचार, टिप्पणी तथा विश्लेषण प्रकाशित वा प्रसारित गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था उत्पन्न हुन सक्ने जनाएको छ ।
प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई अपूर्ण, भ्रामक र तथ्यहीन सूचना प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ । साथै, नेपाल प्रहरीले कानुनी व्यवस्था, पारदर्शिता, निष्पक्षता तथा स्थापित प्रशासनिक प्रणालीको पालना गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ ।

आईसीटी समाचार