काठमाडौं । नेपालका किसानका लागि बाँदरबाट हुने बाली नोक्सानी वर्षौंदेखिको ठूलो समस्या हो । खेतमा दिनरात पहरा, टिन बजाउने, पटाका पड्काउने, कुकुर लगाउनेदेखि मान्छे परिचालनसम्मका परम्परागत उपाय अपनाइए पनि बाँदरको आतंक रोकिएको छैन । बाँदरको बौद्धिक व्यवहारका कारण उनीहरू यस्ता उपायसँग छिट्टै अभ्यस्त हुने भएकाले समस्या झन् जटिल बन्दै गएको छ ।
यही समस्याको दीर्घकालीन समाधान खोज्दै एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट (एसीईएम) अन्तर्गतको सेन्टर फर एकेडेमिया–इन्डस्ट्री लिङ्केज एन्ड इन्टरनेसनल कोल्याबोरेसन (CAILIC) ले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित बाँदर नियन्त्रण प्रणाली विकास गरिरहेको छ ।
"Monkey Control and Damage Mitigation R&D Project" नाम दिइएको यस परियोजनाले आधुनिक एआई, कम्प्युटर भिजन, सेन्सर, अल्ट्रासोनिक प्रविधि तथा ड्रोनको संयोजनमार्फत बाँदरबाट हुने बाली क्षति न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । यो अनुसन्धानको अवधारणा हालै खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) मा सरकारद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यदल समक्ष प्रस्तुत गरिएको थियो । कार्यदलमा कृषि, वन तथा वातावरण क्षेत्रका सरकारी निकाय, विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

परम्परागत उपाय किन असफल भए ?
परियोजनाका प्रमुख योजनाकार तथा CAILIC का संस्थापक डा. शङ्कर ढकालका अनुसार बाँदर अत्यन्त बुद्धिमान प्राणी भएकाले एउटै प्रकारको डर देखाएर लामो समयसम्म नियन्त्रण गर्न सम्भव हुँदैन । उनका अनुसार मानिसले कुकुर भुकाउने, कुकुरलाई बाघजस्तो देखिने गरी रङ लगाउने वा एउटै आवाज प्रयोग गरेर बाँदर भगाउने प्रयास गर्छन् । सुरुमा बाँदर डराए पनि केही समयपछि त्यो वास्तविक खतरा नभएको उनीहरूले बुझिहाल्छन् र पुन: खेतमा फर्किन्छन् ।
यही व्यवहारलाई अध्ययन गर्दै अनुसन्धान टोलीले 'रेन्डमाइजेसन एल्गोरिदम'मा आधारित प्रणाली विकास गरिरहेको छ । यसले प्रत्येक पटक फरक–फरक तरिकाले बाँदरलाई तर्साउने भएकाले उनीहरू कुनै पनि निश्चित संकेतसँग अभ्यस्त हुन सक्दैनन् ।

एआईले कसरी पत्ता लगाउँछ बाँदर ?
यो प्रणालीमा खेतबारी वरिपरि जडान गरिएका क्यामेरा र स्मार्ट सेन्सरले निरन्तर निगरानी गर्छन् । एआई र इमेज प्रोसेसिङको प्रयोग गरी बाँदरको झुन्ड देखिएलगत्तै प्रणाली सक्रिय हुन्छ । अनुसन्धान टोलीका अनुसार यसले बाँदरको संख्या, गतिविधि र सम्भावित जोखिमको स्तरसमेत विश्लेषण गर्न सक्छ । त्यसपछि जोखिमको अवस्था अनुसार विभिन्न प्रविधि क्रमश: प्रयोग गरिन्छ ।
सबैभन्दा पहिले प्रणालीले मानिसले नसुन्ने तर बाँदरका लागि अत्यन्त असहज हुने अल्ट्रासोनिक ध्वनि उत्सर्जन गर्छ । यदि त्यसले काम नगरेमा एआईले प्राकृतिक रूपमा बाँदरहरूले खतरा महसुस गर्दा निकाल्ने चेतावनी संकेतको कृत्रिम ध्वनि बजाउँछ । तर यहाँ पनि एउटा विशेषता छ- हरेक पटक एउटै आवाज प्रयोग हुँदैन । प्रणालीले विभिन्न प्रकारका ध्वनि र संकेतहरू अनियमित (Randomized) रूपमा प्रयोग गर्ने भएकाले बाँदरले त्यसलाई सम्झेर बेवास्ता गर्न सक्दैनन् ।

जोखिम बढेपछि ड्रोनदेखि पानीको फोहोरसम्म
यदि बाँदरको झुन्ड ठूलो भयो वा सुरुवाती उपाय प्रभावकारी भएन भने प्रणालीले अर्को तहको प्रतिरोधात्मक उपाय अपनाउँछ । यसअन्तर्गत स्वचालित रूपमा पानीको फोहोरा प्रहार गर्न सकिने व्यवस्था गरिएको छ ।
साथै, धेरै ठूलो समूहमा आउँदा पानीको फोहोराको ठाउँमा बाँदरलाई मन नपर्ने गन्धसहितको कुनै खालको स्थानीय जैविक प्रविधिको झोल समेत छर्न सकिनेछ । आवश्यक परे स्थानीय स्तरमै उपलब्ध हुने सामाग्री वा रबरको बुलेट प्रयोग गरेर पनि बाँदरलाई क्षति नपुग्ने गरी खेतबाट हटाउन सकिने विकल्प राखिएको छ ।
ठूलो झुन्ड आएको अवस्थामा भने ड्रोन प्रयोग गरेर आकाशबाट निगरानी तथा बाँदर धपाउने व्यवस्था गरिनेछ । डा. ढकालका अनुसार यस्ता ड्रोन बाँदर धपाउन मात्र होइन, भविष्यमा बीउ छर्ने, मल छर्ने, माटो परीक्षण गर्ने तथा सामान ढुवानी जस्ता कृषि प्रयोजनमा समेत उपयोग गर्न सकिन्छ ।
"राष्ट्र निर्माणको लागि हामी समान सोच भएका वैज्ञानिक, प्राविधिक तथा नवप्रवर्तनमा आधारित उद्यमीबीच बृहत सहकार्यमा विश्वास गर्छौं ।" भन्दै प्रोटोटाइप निर्माण र पाईलट टेस्टिङ चरणमा रहेको यस अनुसन्धान आयोजनामा समान सोच बोक्ने रामलक्ष्मण इन्नोभेसन, राष्ट्रिय आविष्कार केन्द्र तथा त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र विभाग लगायतसँग सहकार्यको लागि सम्वाद जारी रहेको सहप्राध्यापक ढकालले बताउनुभयो ।
सस्तो र स्थानान्तरण गर्न मिल्ने प्रणाली
अनुसन्धान टोलीले यो प्रविधिलाई सकेसम्म कम लागतमा विकास गर्ने लक्ष्य राखेको छ । रबर बुलेटको सट्टा स्थानीय सामाग्री प्रयोग गर्ने, सिँचाइका लागि उपलब्ध पानीबाटै फोहोरा सञ्चालन गर्ने तथा आवश्यक पर्दा मात्रै ड्रोन प्रयोग गर्ने योजना बनाइएको छ ।
टोलीका अनुसार बाँदरले कुनै स्थानलाई बारम्बार खतरा भएको क्षेत्रका रूपमा स्वीकार गरेपछि त्यहाँ आउनै छाड्ने स्वभाव हुन्छ । त्यसैले उपकरणलाई सधैँ एउटै स्थानमा राखिरहनुपर्ने आवश्यकता हुँदैन । आवश्यकता अनुसार अर्को प्रभावित क्षेत्रमा सारेर पुन: प्रयोग गर्न सकिनेछ ।
दीर्घकालीन समाधान : बफर जोन
अनुसन्धानकर्ताहरूले प्रविधिमात्र होइन, पारिस्थितिकीय समाधान पनि अघि सारेका छन् । परियोजनाअन्तर्गत खेत र जंगलको बीचमा बफर जोन निर्माण गरी त्यहाँ बाँदरलाई मन पर्ने फलफूल तथा वनस्पति रोप्ने प्रस्ताव गरिएको छ । यसले बाँदरलाई जंगलमै पर्याप्त खाद्य उपलब्ध गराएर बस्ती र खेततर्फ आउनबाट रोक्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ ।
कृषि मात्र होइन, उद्योग र अन्य वन्यजन्तु व्यवस्थापनमा पनि उपयोगी
अनुसन्धान टोलीका अनुसार यो प्रणाली कृषि क्षेत्रमा मात्रै सीमित रहने छैन । वन क्षेत्र नजिक रहेका उद्योग, विशेष गरी बालाजु औद्योगिक क्षेत्रजस्ता स्थानको सुरक्षा गर्न पनि यसको प्रयोग गर्न सकिन्छ । भविष्यमा दुम्सी, हात्ती लगायत अन्य वन्यजन्तुको प्रवेश नियन्त्रणका लागि समेत यही प्रविधिलाई परिमार्जन गरेर प्रयोग गर्न सकिने सम्भावना रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

बहुविषयगत अनुसन्धान टोली
परियोजनाको नेतृत्व डा. शङ्कर ढकालले गरिरहेका छन् भने प्रस्तुति डा. विनायक ओझासँग संयुक्त रूपमा गरिएको थियो । अनुसन्धान टोलीमा डा. रक्षा डङ्गोल, डा. बिपुन मान पति, विप्लव गिरी, प्रकाश ज्ञवाली, खुमबहादुर कुँवर, भरोषकुमार यादव, अनिल पोखरेल, आर्यन काफ्ले, सिलसिला पौडेल, अभिषेक यादव, शोभित खत्री, गोविन्द पोखरेल लगायतका अनुसन्धानकर्ता तथा प्राविधिक विज्ञहरू संलग्न छन् ।
टोलीले परियोजनाको प्राविधिक मार्गचित्र, कार्यान्वयन योजना र अनुमानित बजेटसहितको विस्तृत प्रस्ताव सरकारद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व कार्यदलसमक्ष बुझाइसकेको छ ।
केही प्रविधिको सफल परीक्षण
परियोजना अहिले अनुसन्धान तथा विकास (R&D) चरणमा छ । टोलीका अनुसार अल्ट्रासोनिक ध्वनि प्रणाली तथा प्राकृतिक खतराको कृत्रिम सङ्केत सिर्जना गर्ने प्रविधिको प्रारम्भिक परीक्षण सफल भइसकेको छ । पर्याप्त सरकारी सहयोग र बजेट उपलब्ध भए केही महिनाभित्र पूर्ण आकारको प्रोटोटाइप तयार गरी प्रभावित खेतबारीमा पाइलट परीक्षण सुरु गर्न सकिने टोलीको दाबी छ ।
अनुसन्धानकर्ताहरूले स्थानीय सरकारले हाल बाँदर धपाउन मानवशक्ति परिचालनमा खर्च गर्ने बजेटलाई प्रविधिमै लगानी गर्न सके अझ प्रभावकारी र दिगो समाधान प्राप्त हुने सुझाव दिएका छन् ।
'ओपन पेटेन्ट'को अवधारणा
टोलीले यो प्रविधिलाई पेटेन्ट प्रक्रियामा लैजाने तयारी गरिरहेको भएपनि यसलाई 'ओपन पेटेन्ट' अवधारणाअनुसार सार्वजनिक हितका लागि खुला राख्ने योजना बनाएको छ । यस अनुसन्धानलाई अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गर्ने तयारी समेत भइरहेको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार परियोजनाको मुख्य उद्देश्य व्यावसायिक नाफा कमाउनु होइन, किसानलाई राहत दिनु हो । नेपालमा सफल भएपछि भविष्यमा भारत, चीन, बङ्गलादेश लगायतका देशमा समेत यो प्रविधि निर्यात गर्न सकिने सम्भावना रहेको उनीहरूको विश्वास छ ।

सरकारसँग सहकार्यको अपेक्षा
अनुसन्धान टोलीले आफ्नो अवधारणा मानव–वन्यजन्तु द्वन्द्व कार्यदल तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय समक्ष प्रस्तुत गरिसकेको छ । अनुसन्धानकर्ताहरूले नवगठित मन्त्रालयलाई उच्च प्रभाव पार्ने अनुसन्धानका लागि योग्यतामा आधारित, छिटो र पारदर्शी अनुदान प्रणाली विकास गर्न आग्रह गरेका छन् ।
यद्यपि सरकारी सहयोग नपाए पनि परियोजनालाई निरन्तर अघि बढाउने प्रतिबद्धता टोलीले जनाएको छ । डा. ढकाल भन्छन्, "हामी सरकारको सहयोग नभए पनि यो परियोजनालाई पूरा गर्छौं । तर सरकारको साथ पाए वन्यजन्तुबाट हैरानी भोगिरहेका किसानसम्म यो प्रविधि छिटो र सहज रूपमा पुर्याउन सकिन्छ ।"
नेपालमा बाँदरबाट हुने बाली क्षति रोक्न दशकौँदेखि अपनाइँदै आएका परम्परागत उपाय प्रभावकारी हुन नसकेको अवस्थामा स्वदेशमै विकसित एआईमा आधारित यो प्रविधि सफल भए किसानका लागि मात्र होइन, नेपालको कृषि प्रविधि विकासको इतिहासमा समेत एउटा महत्वपूर्ण उपलब्धि बन्न सक्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार