कीवर्डहरू -

कमजोर पासवर्डले निम्त्याउन सक्छ ठूलो जोखिम, यी गल्ती नगर्नुहोस्

कमजोर पासवर्डले निम्त्याउन सक्छ ठूलो जोखिम, यी गल्ती नगर्नुहोस्

काठमाडौं । सामाजिक सञ्जालदेखि इमेल, बैंकिङ तथा विभिन्न मोबाइल एपसम्म अहिले अधिकांश डिजिटल सेवामा पासवर्ड अनिवार्यजस्तै बनेको छ । तर, सहजै सम्झन सकिने वा एउटै पासवर्ड विभिन्न खातामा प्रयोग गर्ने बानीले प्रयोगकर्ताको डिजिटल सुरक्षा जोखिममा पार्न सक्छ ।

साइबर सुरक्षाका लागि बलियो पासवर्ड प्रयोग गर्नु आधारभूत आवश्यकता हो । विशेष गरी सामाजिक सञ्जालका खातामा कमजोर वा अनुमान गर्न सजिलो पासवर्ड राख्दा अनधिकृत पहुँचको जोखिम बढ्न सक्छ । त्यसैले पासवर्ड बनाउँदा केही सामान्य गल्तीबाट जोगिन आवश्यक हुन्छ ।

मोबाइल नम्बरलाई पासवर्ड नबनाउनुहोस्
धेरै प्रयोगकर्ताले सम्झन सजिलो हुने भन्दै आफ्नै मोबाइल नम्बरलाई पासवर्डका रूपमा प्रयोग गर्ने गर्छन् । तर, मोबाइल नम्बर व्यक्तिगत जानकारी भएपनि अनुमान गर्न सकिने भएकाले यस्तो पासवर्ड सुरक्षित मानिँदैन ।

मोबाइल नम्बर, जन्ममिति, नाम वा अन्य सजिलै अनुमान गर्न सकिने व्यक्तिगत विवरणलाई पासवर्डका रूपमा प्रयोग नगर्नु राम्रो हुन्छ ।

सबै खातामा एउटै पासवर्ड नराख्नुहोस्
विभिन्न सामाजिक सञ्जाल तथा अन्य अनलाइन खातामा एउटै पासवर्ड प्रयोग गर्ने बानी पनि जोखिमपूर्ण हुन सक्छ ।

कुनै एउटा खाताको पासवर्ड अनधिकृत व्यक्तिको हातमा पुगेमा त्यही पासवर्ड प्रयोग भएका अन्य खातामा समेत पहुँच बनाउने प्रयास हुन सक्छ । त्यसैले प्रत्येक महत्वपूर्ण खाताका लागि अलग र बलियो पासवर्ड प्रयोग गर्नुपर्छ ।

पासवर्ड कागजमा लेखेर वा मोबाइलको कभरमा नराख्नुहोस्
पासवर्ड बिर्सिने डरले कतिपयले कागज, डायरी वा किताबमा लेखेर राख्ने गर्छन् । त्यस्तै, मोबाइलको कभरभित्र पासवर्ड लेखिएको कागज राख्ने बानी पनि देखिन्छ ।

यस्तो अवस्थामा कागज हराएमा वा मोबाइल अरूको हातमा परेमा पासवर्डसम्बन्धी जानकारी बाहिरिन सक्छ । पासवर्ड सुरक्षित राख्न विश्वसनीय पासवर्ड म्यानेजर प्रयोग गर्नु उपयुक्त विकल्प हुन सक्छ ।

‘१२३४५६’ जस्ता पासवर्डबाट बच्नुहोस्
अझै पनि धेरै प्रयोगकर्ताले अत्यन्तै सामान्य र सजिलै अनुमान गर्न सकिने पासवर्ड प्रयोग गर्ने गरेका छन् । उपलब्ध अनुसन्धानका अनुसार करिब ४५ लाख प्रयोगकर्ताले ‘१२३४५६’ र करिब ४० लाखले ‘admin’ जस्ता पासवर्ड प्रयोग गरेका थिए ।

त्यस्तै, करिब १३ लाख ७० हजार प्रयोगकर्ताले ‘१२३४५६७८’ पासवर्ड प्रयोग गरेको देखिएको थियो । यस्ता पासवर्ड साइबर आक्रमणकारीले सहजै अनुमान गर्न सक्ने भएकाले प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ ।

डिजिटल खाताको सुरक्षाका लागि लामो, अद्वितीय र अनुमान गर्न कठिन पासवर्ड प्रयोग गर्नुका साथै सम्भव भएसम्म दुई तहको प्रमाणीकरण (Two-Factor Authentication) समेत सक्रिय राख्नु सुरक्षित मानिन्छ ।