काठमाडौं । स्मार्टफोन अहिले सञ्चारको साधनमा मात्र सीमित छैन । अनलाइन भुक्तानी, कार्यालयका काम, मनोरञ्जन, अध्ययनदेखि व्यक्तिगत जानकारी भण्डारण गर्नेसम्मका काममा यसको प्रयोग हुन्छ । दैनिक जीवनका अधिकांश काम स्मार्टफोनमा निर्भर हुन थालेपछि यसको कार्यक्षमता र सुरक्षा कायम राख्नु पनि उत्तिकै आवश्यक बनेको छ ।
तर, धेरै प्रयोगकर्ताले फोन खरिद गर्दा यसको मूल्य र सुविधामा ध्यान दिए पनि प्रयोगका क्रममा आवश्यक सावधानी अपनाउँदैनन् । जथाभावी चार्ज गर्ने, अनावश्यक एपहरू राख्ने, स्टोरेज भरिराख्ने तथा सुरक्षा अपडेटलाई बेवास्ता गर्ने बानीले फोनको कार्यक्षमता र ब्याट्रीको स्वास्थ्यमा असर पार्न सक्छ ।
सामान्य सावधानी र नियमित हेरचाहबाट स्मार्टफोनलाई लामो समयसम्म राम्रो अवस्थामा राख्न सकिन्छ । फोनको गति कायम राख्न, ब्याट्रीको आयु जोगाउन र साइबर जोखिमबाट सुरक्षित रहन अपनाउनुपर्ने ६ महत्त्वपूर्ण उपाय यस्ता छन् ।
१. फोनलाई भौतिक क्षतिबाट सुरक्षित राख्नुहोस्
स्मार्टफोनको आयु घटाउने प्रमुख कारणमध्ये एक हो भौतिक क्षति । हातबाट खस्नु, पानी वा ओस लाग्नु, धुलो पस्नु तथा स्क्रिन फुट्नुजस्ता समस्याले फोनको बाहिरी स्वरूपसँगै आन्तरिक प्रणालीमा समेत असर पार्न सक्छ । त्यसैले फोन खरिद गरेपछि नै गुणस्तरीय ब्याक कभर र स्क्रिन प्रोटेक्टर प्रयोग गर्नु राम्रो हुन्छ । क्यामेरा लेन्सको सुरक्षाका लागि उपयुक्त प्रोटेक्टर पनि प्रयोग गर्न सकिन्छ ।
फोनको बाहिरी सरसफाइमा समेत ध्यान दिनुपर्छ । लामो समयसम्म कभर नखोली प्रयोग गर्दा त्यसको भित्री भागमा धुलो र फोहोर जम्मा हुन सक्छ, जसले फोनको सतहमा दाग वा कोतरिने समस्या निम्त्याउन सक्छ । त्यसैले समय-समयमा कभर हटाएर नरम र सफा कपडाले फोन पुछ्नुपर्छ । चार्जिङ पोर्टमा धुलो वा फोहोर जमेको अवस्थामा पनि सावधानीपूर्वक सफा गर्नुपर्छ । यसका लागि नरम ब्रस प्रयोग गर्न सकिन्छ । पोर्टभित्र धारिलो वस्तु वा तरल पदार्थ प्रयोग गर्नु हुँदैन ।
२. ब्याट्रीको आयु जोगाउन चार्ज गर्ने तरिका सुधार्नुहोस्
स्मार्टफोन प्रयोगकर्ताले सामना गर्ने सामान्य समस्यामध्ये ब्याट्री चाँडै सकिनु पनि एक हो । समयसँगै लिथियम आयन ब्याट्रीको क्षमता घट्दै जानु स्वाभाविक भएपनि गलत चार्जिङ बानीले यो प्रक्रिया छिटो बनाउन सक्छ । ब्याट्रीलाई लामो समयसम्म राम्रो अवस्थामा राख्न सम्भव भएसम्म यसको चार्ज २० देखि ८० प्रतिशतको आसपास कायम राख्ने बानी उपयोगी हुन्छ । यद्यपि, कहिले काहीँ पूर्ण चार्ज गर्नु वा ब्याट्री कम हुनु आफैँमा समस्या होइन ।
फोनलाई अत्यधिक तातो हुन नदिनु पनि उत्तिकै महत्त्वपूर्ण छ । चार्ज गर्दा फोनलाई घाममा राख्ने, अत्यधिक तापक्रम भएको ठाउँमा छोड्ने वा ताप बढाउने काम गर्नु हुँदैन । रातभर चार्जमा राख्दा आधुनिक फोनका चार्जिङ व्यवस्थापन सुविधाले चार्ज नियन्त्रण गर्ने भए पनि अत्यधिक तापबाट बचाउनु आवश्यक हुन्छ । त्यसैले उपयुक्त र गुणस्तरीय चार्जर तथा केबल प्रयोग गर्नुपर्छ । सम्भव भएसम्म फोन निर्माता कम्पनीले सिफारिस गरेका चार्जिङ उपकरण प्रयोग गर्नु राम्रो हुन्छ ।
३. स्टोरेज व्यवस्थापन गरेर फोनको गति कायम राख्नुहोस्
फोनको स्टोरेज भरिँदै जाँदा नयाँ फाइल सुरक्षित गर्न, एप अपडेट गर्न तथा अन्य काम गर्न समस्या आउन सक्छ । विशेष गरी फोटो, भिडियो, डाउनलोड गरिएका फाइल र प्रयोग नभएका एपहरूले धेरै ठाउँ ओगटेका हुन्छन् । त्यसैले समय-समयमा अनावश्यक फाइल हटाएर आवश्यक डाटाको ब्याकअप राख्नुपर्छ । फोनको कुल स्टोरेजको केही हिस्सा खाली राख्दा अपडेट तथा अस्थायी फाइल व्यवस्थापन गर्न सहज हुन्छ ।
त्यस्तै, लामो समयदेखि प्रयोग नगरेका एपहरू हटाउनु पनि उपयोगी हुन्छ । केही एपले ब्याकग्राउन्डमा चलिरहँदा ब्याट्री र सिस्टम स्रोत प्रयोग गर्न सक्छन् । आवश्यकताअनुसार एपको क्यास हटाउन सकिन्छ । तर, सबै क्यास फाइल हटाउँदा फोनको गति अनिवार्य रूपमा बढ्छ भन्ने हुँदैन । पुरानो वा कम क्षमताको फोन प्रयोग गर्ने व्यक्तिले सम्भव भएमा एपका हल्का संस्करण प्रयोग गर्न सक्छन् । यसले सीमित स्रोत भएको फोनमा केही सहजता प्रदान गर्न सक्छ ।
४. सुरक्षित र प्रभावकारी ब्राउजर प्रयोग गर्नुहोस्
इन्टरनेट चलाउँदा प्रयोग गरिने ब्राउजरले पनि फोनको कार्य क्षमता, गोपनीयता र सुरक्षामा प्रभाव पार्छ । वेबसाइट खोल्दा देखिने अत्यधिक विज्ञापन, ट्र्याकिङ प्रणाली र अनावश्यक सामाग्रीले प्रयोगकर्ताको अनुभव असहज बनाउन सक्छ । त्यसैले आवश्यकताअनुसार विज्ञापन तथा ट्र्याकिङ नियन्त्रण गर्ने सुविधा भएका ब्राउजर प्रयोग गर्न सकिन्छ ।
ब्रेभ, फायरफक्स र ओपेराजस्ता ब्राउजरमा गोपनीयता तथा विज्ञापन नियन्त्रणसम्बन्धी विभिन्न सुविधा उपलब्ध छन् । फायरफक्समा युब्लक ओरिजिनजस्ता एक्सटेन्सन पनि प्रयोग गर्न सकिन्छ । यस्ता सुविधाले अनावश्यक ट्र्याकिङ र विज्ञापन घटाउन मद्दत गर्छन् । ब्राउजर छनोट गर्दा यसको सुरक्षा अपडेट, गोपनीयता नीति र आफूलाई आवश्यक पर्ने सुविधामा ध्यान दिनुपर्छ । साथै, एकैपटक धेरै ट्याब खोल्ने बानी कम गर्दा पनि फोनको मेमोरी व्यवस्थापनमा सहयोग पुग्न सक्छ ।
५. मालवेयर र भाइरसबाट फोनलाई जोगाउनुहोस्
अपरिचित स्रोतबाट एप डाउनलोड गर्नु स्मार्टफोन सुरक्षाका लागि जोखिमपूर्ण हुन सक्छ । नक्कली एप, संक्रमित फाइल र मालवेयरले व्यक्तिगत विवरण चोरी गर्नेदेखि बैंकिङ खातासम्म जोखिममा पार्न सक्छन् । त्यसैले एन्ड्रोइड प्रयोगकर्ताले सम्भव भएसम्म गुगल प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप्पल एप स्टोरबाट मात्र एप डाउनलोड गर्नुपर्छ । आधिकारिक स्टोरमा रहेका सबै एप पूर्ण रूपमा जोखिममुक्त हुन्छन् भन्ने हुँदैन, त्यसैले डाउनलोड गर्नुअघि एपको निर्माता, समीक्षा र आवश्यक अनुमतिसमेत जाँच्नुपर्छ ।
कुनै एपले आफ्नो कामसँग सम्बन्ध नभएका अनुमति मागेको छ भने त्यसप्रति सचेत हुनुपर्छ । उदाहरणका लागि, सामान्य टर्चलाइट एपलाई कन्ट्याक्ट, माइक्रोफोन वा लोकेसनको पहुँच किन आवश्यक पर्यो भन्ने प्रश्न गर्नुपर्छ । अनावश्यक अनुमति अस्वीकार गर्नु वा शंकास्पद एप हटाउनु उचित हुन्छ । त्यस्तै, फोनको अपरेटिङ सिस्टम र सुरक्षा प्याच समयमै अपडेट गर्नुपर्छ । यस्ता अपडेटले पुराना सुरक्षा कमजोरी समाधान गर्न र नयाँ जोखिमबाट जोगाउन मद्दत गर्छन् ।
६. फिसिङ र अनलाइन ठगीबाट व्यक्तिगत विवरण जोगाउनुहोस्
स्मार्टफोन प्रयोगकर्ताका लागि साइबर ठगी अर्को ठूलो चुनौती बनेको छ । ठगहरूले बैंक, सरकारी कार्यालय वा चर्चित कम्पनीको नाम प्रयोग गरेर नक्कली म्यासेज, इमेल र वेबसाइटमार्फत व्यक्तिगत जानकारी तथा पासवर्ड चोरी गर्ने प्रयास गर्न सक्छन् । चिठ्ठा परेको, नि:शुल्क उपहार पाइने वा बैंक खाता बन्द हुन लागेको भन्दै पठाइने शंकास्पद लिंक यस्ता ठगीका सामान्य माध्यम हुन् ।
त्यसैले अपरिचित नम्बर वा इमेलबाट आएका लिंकमा हतारमा क्लिक गर्नु हुँदैन । बैंकिङ वा अन्य महत्त्वपूर्ण खातासम्बन्धी जानकारी आवश्यक परे सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा एपबाट मात्र जाँच गर्नुपर्छ । आफ्ना इमेल, सामाजिक सञ्जाल र वित्तीय खातामा दुई तहको प्रमाणीकरण (टु-फ्याक्टर अथेन्टिकेसन) सक्रिय गर्नु पनि महत्त्वपूर्ण छ । सम्भव भएसम्म एसएमएस कोडभन्दा आधिकारिक अथेन्टिकेटर एप वा पासकीजस्ता थप सुरक्षित विकल्प प्रयोग गर्न सकिन्छ । यसले पासवर्ड अरूको हातमा परे पनि खातामा अनधिकृत पहुँचको जोखिम घटाउँछ ।
आईसीटी समाचार