काठमाडौं । पाकिस्तानको डिजिटल अर्थतन्त्रलाई गति दिन तथा युवालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन गुगल र पाकिस्तान सरकारबीच महत्वपूर्ण समझदारी भएको छ ।
डिजिटल रूपान्तरण, एआई प्रविधिको प्रयोग, डिजिटल सीप विकास तथा सूचना प्रविधि निर्यात विस्तारलाई केन्द्रमा राखेर पाकिस्तान सरकार र गुगलबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार पाकिस्तानको डिजिटल अर्थतन्त्रलाई सन् २०३० सम्म ३० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ । यसका लागि युवाको सीप विकासदेखि सरकारी सेवा, कृषि, डिजिटल भुक्तानी, मोबाइल एप तथा गेमिङ उद्योगसम्म एआई र डिजिटल प्रविधिको प्रयोग विस्तार गरिनेछ ।
समझदारी हस्ताक्षर कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ पनि उपस्थित थिए । कार्यक्रममा सूचना प्रविधि तथा दूरसञ्चारमन्त्री शाजा फातिमा ख्वाजा, अर्थमन्त्री मुहम्मद औरंगजेब, गुगलका वरिष्ठ अधिकारीलगायत सहभागी थिए ।
२०२६ मै १ लाख ५० हजारलाई करिअर सर्टिफिकेट
गुगलले सन् २०२६ मा पाकिस्तानका युवाका लागि १ लाख ५० हजार ‘गुगल करिअर सर्टिफिकेट’ उपलब्ध गराउने योजना बनाएको छ । उच्च माग भएका प्राविधिक क्षेत्रमा बजारअनुकूल सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिने यो कार्यक्रममार्फत युवालाई रोजगारीका लागि आवश्यक डिजिटल तथा प्राविधिक दक्षता हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । गुगलले आगामी वर्षहरूमा यस कार्यक्रमलाई थप विस्तार गर्ने सम्भावना समेत खोज्ने जनाएको छ ।
विद्यार्थीलाई एआई उपकरणमा नि:शुल्क पहुँच
समझदारीअन्तर्गत पाकिस्तानका विद्यार्थीलाई उन्नत एआई उपकरणमा पहुँच उपलब्ध गराउने योजना पनि छ । गुगलले गुगल एआई प्लस र जेमिनी नोटबुकमा एक वर्षसम्म नि:शुल्क पहुँच उपलब्ध गराउने सम्भावना खोज्ने भएको छ ।
अध्ययन तथा अनुसन्धानमा एआईको प्रयोग बढाउँदै विद्यार्थीलाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार पार्नु यसको उद्देश्य हो । यसबाट विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि गर्नुका साथै भविष्यमा सूचना प्रविधि निर्यातमा योगदान पुर्याउन सक्ने जनशक्ति तयार हुने अपेक्षा गरिएको छ ।
इस्लामाबादमा ‘एआई सेन्टर अफ एक्सिलेन्स’ स्थापना
पाकिस्तान सरकार र गुगलले इस्लामाबादमा ‘एआई सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सहमति पनि गरेका छन् । केन्द्रमार्फत पाकिस्तानी युवा तथा अन्य जनशक्तिलाई अन्तर्राष्ट्रिय प्रविधि बजारको मापदण्डअनुसार एआईसम्बन्धी सीप प्रदान गरिनेछ । यसलाई पाकिस्तानको बढ्दो युवा जनशक्तिलाई विश्व बजारसँग जोड्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री शहबाज सरिफले आधुनिक प्रविधि र एआई उपकरणमार्फत युवालाई सशक्त बनाउनुपर्ने बताएका छन् । पाकिस्तानमा ठूलो युवा जनसंख्या रहेकाले त्यसलाई सही सीप र अवसरसँग जोड्न सके देशको आर्थिक अवस्था परिवर्तन गर्न सकिने उनको भनाइ थियो ।
सरकारी सेवामा पनि एआईको प्रयोग
समझदारीको अर्को महत्वपूर्ण पक्ष सरकारी सेवा र प्रशासनको डिजिटल रूपान्तरण हो । प्रधानमन्त्रीको नेतृत्वमा अघि बढाइएको संघीय राजस्व बोर्ड (एफबीआर) रूपान्तरण योजनाअन्तर्गत गुगलले एआईको प्रयोगमा सहयोग गर्नेछ ।
एआईमार्फत सार्वजनिक सेवा प्रवाहलाई आधुनिक बनाउने, सरकारी काम कारबाहीलाई प्रभावकारी बनाउने तथा एफबीआरको डिजिटल रूपान्तरणलाई तीव्रता दिने लक्ष्य राखिएको छ ।
कृषि क्षेत्रमा पनि एआई प्रयोग विस्तार गर्ने योजना छ । बालीको निगरानी, उत्पादनको पूर्वानुमान तथा दिगो खेती प्रणाली विकासमा एआई प्रयोग गरिनेछ ।
एप, गेमिङ र डिजिटल भुक्तानीमा जोड
समझदारीले पाकिस्तानको मोबाइल एप र गेमिङ उद्योगलाई समेत प्राथमिकतामा राखेको छ । गुगल र पाकिस्तानले स्थानीय एप विकासकर्ता तथा गेमिङ स्टुडियोलाई सहयोग गर्ने, उनीहरूको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने तथा उद्योगको विकासका लागि आवश्यक एक्सिलेटर कार्यक्रम अघि बढाउने भएका छन् ।
त्यस्तै, डिजिटल भुक्तानी प्रणालीलाई थप बलियो बनाउने र डिजिटल व्यापार विस्तार गर्ने विषयमा पनि दुवै पक्षले सहकार्य गर्नेछन् । साना तथा मझौला उद्यम (एसएमई) लाई डिजिटल प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न सहयोग पुर्याउने योजना पनि समझदारीमा समेटिएको छ ।
आईटी निर्यात बढाउन संयुक्त कार्यदल
पाकिस्तानको आईटी निर्यात विस्तारका लागि सरकार, गुगल र निजी क्षेत्रका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गरिने भएको छ । कार्यदलले आईटी निर्यात विस्तारमा रहेका अवरोध तथा सम्भावनाको पहिचान गर्नेछ ।
हार्डवेयर उत्पादन र प्रविधि सेवाका लागि लगानीको ढाँचा निर्माण, अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार तथा मानव संसाधनको सीप अभिवृद्धिलगायत विषयमा पनि कार्यदलले काम गर्नेछ ।
गुगलका पाकिस्तान, फिलिपिन्स र थाइल्यान्डका क्लस्टर निर्देशक फरहान कुरेसीले पाकिस्तानसँगको सहकार्य थप गहिरो बनाउन पाउँदा खुसी व्यक्त गर्दै डिजिटल सीप, एआई उपकरण र विभिन्न क्षेत्रमा प्रविधिको प्रयोग विस्तारमार्फत पाकिस्तानको डिजिटल सम्भावना उजागर गर्न सहयोग गर्ने बताएका छन् ।
पाकिस्तान सरकारले पछिल्ला वर्षमा डिजिटल पूर्वाधार विस्तार, व्यवसाय सञ्चालन सहज बनाउने तथा सूचना प्रविधि क्षेत्रका लागि दक्ष जनशक्ति तयार गर्ने प्रयासलाई तीव्र बनाइरहेका बेला गुगलसँगको यो सहकार्यलाई देशको डिजिटल अर्थतन्त्र विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
आईसीटी समाचार