कीवर्डहरू -

भदौ १ देखि यी जिल्लामा एनसेलको थ्रिजी बन्द, फोरजी प्रयोग गर्न आग्रह

भदौ १ देखि यी जिल्लामा एनसेलको थ्रिजी बन्द, फोरजी प्रयोग गर्न आग्रह

काठमाडौं । एनसेलले चौथो पुस्ताको फोरजी सेवाको पहुँच बढेसँगै नयाँ प्रविधि अपनाउने आफ्नो योजना अनुसार देशका विभिन्न प्रदेशका थप जिल्ला तथा स्थानीय तहरुमा तेस्रो पुस्ताको थ्रिजी सेवा बन्द गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

योसँगै अब थ्रिजी चलाउने प्रयोगकर्ताले नयाँ प्रविधिको फाइदा लिन फोरजी सेवा लिन सक्छन् । कम्पनीका अनुसार भदौ १ बाट लागु हुने गरी विभिन्न जिल्लामा २०० भन्दा बढी मोबाइल टावरले प्रदान गर्दै आएको थ्रिजी सेवा बन्द हुने भएको छ । यसमा गण्डकी प्रदेशका गोरखा, लमजुङ्, लुम्बिनी प्रदेशका पाल्पा, बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका स्थानीय तहहरू रहेका छन् ।

भ्वाइस ओभर लङ टर्म एभोल्युसन (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउने र भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत गर्न थ्रिजी सेवा बन्द गर्दै लगिएको एनसेलले जनाएको छ ।

भोल्टेको फाइदा लिन फोरजी चल्ने मोबाइल र सिम प्रयोग गर्ने ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङमा भोल्टे अन गर्नु पर्ने हुन्छ । भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने फोन सम्पर्क पनि तुलनात्मक रुपमा छिटो समयमा नै स्थापित हुन्छ । कम्पनीका अनुसार ग्राहकले गुणस्तरीय भ्वाइस कल तथा फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्छन् ।

*१२३*११# डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ । भोल्टे सक्रिय भएपछि ग्राहकहरुले आफ्नो मोबाइल फोनको भोल्टे सेटिङमा भोल्टे अन गर्नुपर्ने हु्न्छ । नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने कम्पनीको प्रतिबद्धताअनुरूप, थ्रिजी बन्द गर्दै गइरहेको एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले जानकारी दिइन् ।

‘थ्रिजी बन्दसँगै यो सेवाका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवाका लागि उपयोग हुन्छ’ उनले भनिन् । एनसेलले फोरजी सेवा देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार गरिसकेको जनाएको छ । भदौ १ बाट थ्रिजी सेवा बन्द हुने स्थानको सूचीमा गोरखा जिल्लाका गोरखा नगरपालिका, आरुघाट, शहीद लखन, भिमसेन थापा धार्चेलगायतका स्थानीय तह छन् ।

त्यसैगरी लमजुङका मर्स्याङ्दी, दुधपोखरी, दोर्दी, राइनास, बेशीशहरलगायतका स्थान छन् । बर्दिया जिल्लाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया, गेरुवा, पाल्पा जिल्लाका तानसेन, रामपुर, तिनाउ, रम्भा, पुर्वखोलालगायतका स्थानमा पनि थ्रिजी बन्द हुँदैछ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका टिकापुर, लम्कीचुहा, भजनी, जानकी, जोशीपुरलगायतका स्थानीय तहमा यो सेवा बन्द हुनेछ । भोल्टे प्रविधिको फाइदा लिन फोरजी चल्ने मोबाइल फोन, फोरजी सीमकार्ड वा ई–सिम र फोरजी नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्दछ ।