काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारी नीतिले ऊर्जा खपत बढाउने राष्ट्रिय लक्ष्यलाई नै कमजोर बनाउने बताएका छन् । उनले विद्युत्लाई महँगो बनाउने नीतिको प्रत्यक्ष असर उद्योगदेखि सर्वसाधारणको दैनिक उपभोगसम्म पर्ने दाबी गरे ।
काठमाडौंमा मंगलबार विद्युत्मा लगाइएको भ्याट हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले आयोजित हस्ताक्षर कार्यक्रममा घिसिङले ऊर्जा क्षेत्रसम्बन्धी सरकारी नीतिमाथि प्रश्न उठाएका हुन् ।
उनका अनुसार नेपालले अहिले विद्युत् उत्पादन बढेसँगै देशभित्रै खपत विस्तार गर्ने चरणमा प्रवेश गर्नुपर्ने अवस्था छ । खाना पकाउने ग्यास, पेट्रोल र डिजेलको प्रयोगलाई क्रमश: विद्युत्ले विस्थापन गर्ने नीति आवश्यक भएपनि विद्युत्मै कर थपेर सरकारले त्यसको ठीक विपरीत बाटो लिएको उनको आरोप छ ।
घिसिङले विद्युत्मा कर लगाउने, विद्युतीय सवारी साधनलाई महँगो बनाउने तथा चार्जिङ स्टेसनमा समेत भ्याट लगाउने नीतिले विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन नगर्ने बताए ।
विजुली महँगिँदा उत्पादन लागत बढ्ने दाबी
विद्युत्को लागत बढ्दा त्यसको असर विद्युत् महसुल तिर्ने उपभोक्तामा मात्र सीमित नहुने घिसिङको भनाइ छ । उद्योगले प्रयोग गर्ने विद्युत् महँगिएपछि उत्पादन लागत बढ्ने र त्यसको भार अन्तत: उपभोक्तामाथि पुग्ने उनले बताए ।
उनका अनुसार विद्युत्को लागत बढ्दा चामल, डन्डी, सिमेन्ट, तेललगायत दैनिक उपभोग्य तथा निर्माण सामाग्रीको मूल्य समेत प्रभावित हुन सक्छ । विद्युतीय चुलो र विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्नुपर्ने समयमा विद्युत् तथा चार्जिङ पूर्वाधारमा कर थप्ने नीति विरोधाभासपूर्ण रहेको उनले बताए ।
पेट्रोलियम आयात घटाउन विद्युत्को प्रयोग बढाउनुपर्ने
घिसिङले नेपालको ऊर्जा नीतिलाई विदेशी मुद्रा सञ्चितिसँग समेत जोडेर हेर्नुपर्ने बताए । ग्यास, पेट्रोल र डिजेलको आयातमा ठूलो रकम बाहिरिने भएकाले त्यसको विकल्पका रूपमा स्वदेशमा उत्पादित विद्युत्को उपयोग बढाउनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार पेट्रोलियम पदार्थको आयात उल्लेख्य रूपमा घटाउन सके त्यसबाट बच्ने रकम नै अर्थतन्त्रका लागि ठूलो स्रोत बन्न सक्छ । जनतामाथि थप कर लगाएर राजस्व बढाउनेभन्दा आयात घटाएर विदेशी मुद्रा बचत गर्ने नीति प्रभावकारी हुने उनले बताए ।
स्वदेशी खपतसँगै विद्युत् निर्यातमा जोड
नेपालमा उत्पादन भएको विद्युत् खेर जान नदिई स्वदेशी खपत बढाउने र बाँकी ऊर्जा निर्यात गर्ने रणनीति आवश्यक रहेको घिसिङले बताए । विद्युत् खपत बढाउन विद्युतीय खाना पकाउने उपकरण, विद्युतीय सवारी साधन, उद्योग तथा अन्य उत्पादनमूलक क्षेत्रमा विद्युत्को प्रयोग विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
त्यसैगरी निजी क्षेत्र तथा बैंकिङ प्रणालीमा रहेको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सरकारले लगानीको वातावरण निर्माण गर्नुपर्ने उनले बताए । घिसिङले ऊर्जा, सिँचाइ, खानेपानी र उद्योगको लागत घटाउने नीतिलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे ।
जनतामाथि थप करको भार थोपरेर मात्र राजस्व वृद्धि गर्ने सोचभन्दा उत्पादन बढाउने, विद्युत् खपत विस्तार गर्ने, पेट्रोलियम आयात घटाउने र विद्युत् निर्यातबाट आम्दानी बढाउने दिशामा सरकार अघि बढ्नुपर्ने उनको जोड थियो ।
आईसीटी समाचार