काठमाडौं । साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमा सञ्चालनमा आएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रणाली लागू गरेसँगै अब लाइसेन्सका लागि आवेदन, नवीकरण र राजस्व भुक्तानी सबै अनलाइनबाट गर्न सकिने व्यवस्था सुरु भएको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार राष्ट्रिय परिचयपत्र वा नागरिक एप प्रयोग गर्ने सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेर आवेदन फारममा आफ्नो विवरण स्वतः भर्न सक्नेछन् । यसले व्यक्तिगत विवरण पटक–पटक टाइप गर्नुपर्ने झन्झट हट्नुका साथै त्रुटि पनि कम हुने विभागको विश्वास छ ।
लाइसेन्सको दस्तुर तथा अन्य राजस्व पनि अब डिजिटल माध्यमबाटै तिर्न सकिने भएकाले बैंकमा लाइन बस्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । यद्यपि राष्ट्रिय परिचयपत्र वा नागरिक एप प्रयोग नगर्ने सेवाग्राहीका लागि भने पुरानै तरिकाबाट व्यक्तिगत विवरण भरेर आवेदन दिने व्यवस्था कायम राखिएको विभागले जनाएको छ ।
सेवालाई प्रदेशअनुसार व्यवस्थित बनाउन सातै प्रदेशका लागि छुट्टाछुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीले आफू रहेको प्रदेशको पोर्टलमार्फत लाइसेन्ससम्बन्धी सबै प्रक्रिया अघि बढाउन सक्नेछन् ।
प्राविधिक समस्या वा गुनासो आएमा विभागले केन्द्र तथा प्रदेशस्तरमा सम्पर्क व्यक्ति, टेलिफोन नम्बर र इमेलसमेत उपलब्ध गराएको छ । सम्बन्धित प्रदेशको सम्पर्क केन्द्रमार्फत सेवाग्राहीले आवश्यक सहयोग लिन सक्नेछन् ।
प्रदेशअनुसार लाइसेन्स आवेदन पोर्टल
- कोशी : edlvrs.koshi.gov.np
- मधेश : edlvrs.madhesh.gov.np
- बागमती : edlvrs.bagamati.gov.np
- गण्डकी : edlvrs.gandaki.gov.np
- लुम्बिनी : edlvrs.lumbini.gov.np
- कर्णाली : edlvrs.karnali.gov.np
- सुदूरपश्चिम : edlvrs.sudurpashchim.gov.np
विभागका अनुसार नयाँ प्रणाली लागू भएसँगै लाइसेन्स सेवा थप छिटो, पारदर्शी र सहज हुने अपेक्षा गरिएको छ । डिजिटल प्रणालीमार्फत आवेदनदेखि शुल्क भुक्तानीसम्मको प्रक्रिया एकै ठाउँबाट गर्न सकिने भएपछि सेवाग्राहीको समय र खर्च दुवै बच्ने विश्वास विभागले लिएको छ ।
आईसीटी समाचार