काठमाडौं । गुगलले आफ्ना एआई टुल्स, अर्थात् एआई ओभरभ्यूज र एआई मोडलाई निरन्तर अपडेट गर्दै आएको छ । विन्डोजका लागि गुगल एप र क्रोम ब्राउजरमा नयाँ फिचरहरू जारी गरेपछि, यो टेक कम्पनीले अब प्रयोगमा सहजतामाथि केन्द्रित हुँदै थप पाँचवटा नयाँ सुविधा सार्वजनिक गरेको छ ।
यी नयाँ फिचरमार्फत प्रयोगकर्ताले विशेषज्ञ सुझाव पाउन, आफूलाई मन पर्ने स्रोतहरू सजिलै हेर्न, लिंक प्रिभ्यू प्राप्त गर्न र आफ्ना रुचिअनुसार गहिरा सुझावहरू देख्न सक्नेछन् । यी सुविधा अहिले विश्वभरका प्रयोगकर्ताहरूका लागि रोल आउट भइरहेका छन् ।
गुगलले एक ब्लग पोस्टमार्फत आउने दिनमा प्रयोगकर्ताले पाउने पाँच नयाँ फिचरबारे जानकारी दिएको छ । यीमध्ये धेरैजसो सुविधा ‘क्वालिटी अफ लाइफ’ सुधारसँग सम्बन्धित छन्, तर कम्पनीले सर्च अनुभवलाई अझ सहज र उपयोगी बनाउने दाबी गरेको छ ।
गुगलका सर्च उपाध्यक्ष हेमा बुधराजुले भनेकी छन्, “यी अनुभवहरू त्यतिबेला सबैभन्दा उपयोगी हुन्छन्, जब तिनले वेबमा रहेका प्रामाणिक आवाज र उपयोगी जानकारीसँग जोडिन सजिलो बनाउँछन् ।”
पहिलो नयाँ फिचरले प्रयोगकर्तालाई आफ्ना प्रश्नको गहिराइमा पुग्न सहयोग गर्छ । अब जब जेमिनीले कुनै प्रश्नको उत्तर दिनेछ, तब त्यस विषयबारे अझ विस्तृत रूपमा बुझ्न मद्दत गर्ने केही विशेष लेख वा गहिरो विश्लेषणका लिंकहरू पनि देखाउनेछ । गुगलका अनुसार, यसले जानकारी संकलनलाई अझ सरल बनाउनेछ ।
गुगलले अब साइटेसनमा तपाईंका मनपर्ने स्रोतहरू पहिचान गर्न पनि सजिलो बनाइरहेको छ । जब एआईको जवाफमा प्रयोगकर्ताको समाचार सदस्यतासँग सम्बन्धित जानकारी हुनेछ, तब त्यसलाई छिटो चिन्नका लागि विशेष टिक मार्क र लेबल देखिनेछ । यसले विश्वसनीय स्रोतसम्म पुग्न सजिलो बनाउँछ ।
सबैभन्दा रोचक अपडेटमध्ये एक एक्सपर्ट एडभाइस हो । अहिलेसम्म एआई ओभरभ्यूज र एआई मोडले मुख्यतया विभिन्न वेबसाइटबाट प्राप्त तथ्यहरू मात्र देखाइरहेका थिए । तर अब कम्पनीले कुनै उत्पादन प्रयोग गरेका, कुनै स्थान भ्रमण गरेका वा कुनै विशेष क्षेत्रबारे राम्रो ज्ञान भएका व्यक्तिहरूका विचार र समीक्षा पनि समावेश गर्नेछ ।
यी सामाग्रीहरू अनलाइन छलफल र सामाजिक सञ्जाल जस्ता प्रत्यक्ष स्रोतबाट लिइनेछन् । यसमा क्रिएटरको नाम वा ह्यान्डल पनि देखाइनेछ, ताकि प्रयोगकर्ताले आफूले पढ्ने कि नपढ्ने भनेर आफैं निर्णय गर्न सकून् ।
अर्को नयाँ सुविधा उत्तरभित्र अझ धेरै साइटेसन देखिनु हो । अब प्रयोगकर्ताले बुलेट पोइन्ट्सको छेउमा र साना अनुच्छेदपछि युआरएल आइकन, अर्थात् लिंक चेन, देख्न सक्नेछन् । यसले उत्तरप्रति विश्वास बढाउनेछ र चाहेको बेला प्रयोगकर्तालाई सिधै वेबसाइटमा पुग्न पनि सहज बनाउनेछ ।
अन्त्यमा, गुगलले वेबसाइट प्रिभ्यू पनि सुरु गर्दैछ । डेस्कटप प्रयोगकर्ताले कुनै लिंकमा कर्सर राख्दा सो वेबसाइटको नाम र पेजको शीर्षक देख्न सक्नेछन् । यसले क्लिक गर्नुअघि नै उक्त लिंकले के देखाउन लागेको हो भन्ने अनुमान गर्न मद्दत गर्नेछ ।
आईसीटी समाचार