काठमाडौं । औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई), नेपाल सरकारद्वारा आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) लाई बिजनेस इन्क्युबेसन सर्भिस (बीआईएस) अपरेसन एन्ड म्यानेजमेन्ट प्रोग्राम कार्यान्वयनका लागि चयन गरिएको छ । यस अन्तर्गत आईएफएनले डिजिटल एन्ड आईटी–इनेबल्ड स्टार्टअप इन्क्युबेसन प्रोग्राम सञ्चालन गर्दै बागमती प्रदेशको काठमाडौं उपत्यका र कोशी प्रदेशको इटहरी केन्द्रित ५० भन्दा बढी स्टार्टअप प्रारम्भिक चरणमा रहनेछन् ।
मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने यो कार्यक्रम हाइब्रिड मोडलमा चलाइनेछ । कार्यक्रममा सहभागी स्टार्टअपहरूले विशेषज्ञबाट वान-टु-वान मेन्टरशिप, क्यापसिटी बिल्डिङ, बिजनेस डेभलपमेन्ट एन्ड भ्यालिडेसन सपोर्ट र इन्भेस्टर रेडिनेस प्रिपरेशन प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार यो इन्क्युबेसन पहलले उद्यमशीलता विकासलाई काठमाडौं बाहिर पनि विस्तार गर्ने उद्देश्य राखेको छ । विशेष गरी ऐतिहासिक रूपमा कम अवसर पाएका क्षेत्रका उद्यमीलाई समेटेर नवप्रवर्तनको क्षेत्रीय इकोसिस्टम बलियो बनाउने लक्ष्य कार्यक्रमले राखेको छ ।
कार्यक्रममार्फत छनोट भएका स्टार्टअपलाई उद्योग–विशेषज्ञसँगको प्रत्यक्ष सम्पर्क, व्यवहारिक तालिम र नेटवर्किङ अवसर उपलब्ध गराइनेछ । यसले उनीहरूलाई आफ्नो बिजनेस मोडल परिष्कृत गर्न, बजारमा उपस्थिति बढाउन र लगानीका लागि तयारी गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
यसका साथै उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले सीड इन्भेस्टमेन्ट सपोर्ट प्राप्त गर्नेछन् भने उनीहरूलाई आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ्स र एआई कन्फरेन्स जस्ता राष्ट्रिय स्तरका प्लेटफर्ममा पहुँच प्रदान गरिनेछ ।
आईसीटी फाउन्डेसन नेपालले यसअघि डिजिटल कर्णाली कन्क्लेभ र डिजिटल मधेश कन्क्लेभ जस्ता कार्यक्रममार्फत क्षेत्रीय नवप्रवर्तन प्रवर्द्धनमा योगदान दिँदै आएको छ ।
यो कार्यक्रममार्फत आईएफएनले नेपालको स्टार्टअप इकोसिस्टम सुदृढ गर्ने, समावेशी तथा क्षेत्रीय उद्यमशीलता प्रवर्द्धन गर्ने, नवप्रवर्तनमा आधारित आर्थिक वृद्धि अघि बढाउने र स्टार्टअपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा सहभागी हुनका लागि यहाँ क्लिक गरी दर्ता गर्नुहोस् । दर्ता गर्ने अन्तिम मिति वैशाख ७, २०८३ को राति ११ः५९ बजेसम्म रहेको छ ।
आईसीटी समाचार