कीवर्डहरू -

साउनमा क्यूआर कारोबार १ खर्ब ८९ अर्ब नाघ्यो, कारोबार सङ्ख्या पनि बढ्यो

साउनमा क्यूआर कारोबार १ खर्ब ८९ अर्ब नाघ्यो, कारोबार सङ्ख्या पनि बढ्यो

काठमाडौं । नेपालमा क्यूआर कोडमार्फत हुने डिजिटल भुक्तानीको कारोबार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा उल्लेख्य रूपमा बढेको छ । साउन मसान्तसम्म क्यूआरमार्फत हुने कारोबारको सङ्ख्या र रकम दुवैमा वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक भुक्तानी प्रणाली सूचकअनुसार साउन मसान्तसम्म क्यूआर कोडमार्फत कुल १ खर्ब ८९ अर्ब ९० करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

असार मसान्तमा यस्तो कारोबार रकम १ खर्ब ६३ अर्ब १३ करोड १० लाख रुपैयाँ रहेको थियो । अर्थात्, एक महिनामै क्यूआर कारोबार रकम २६ अर्ब ७७ करोड ५० लाख रुपैयाँले बढेको हो ।

यसअघि जेठ मसान्तमा क्यूआरमार्फत हुने कारोबार रकम १ खर्ब ६२ अर्ब ५९ करोड १ लाख रुपैयाँ रहेको थियो । जेठदेखि असारसम्म भने कारोबार रकम ५४ करोड ९ लाख रुपैयाँले बढेको थियो ।

कारोबार सङ्ख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ । असार मसान्तसम्म क्यूआरमार्फत कुल ६ करोड ३६ लाख २० हजार २०७ वटा कारोबार भएका थिए । साउन मसान्तसम्म आइपुग्दा यो सङ्ख्या ५९ लाख ६९ हजार ७७० ले बढेर ६ करोड ९५ लाख ८९ हजार ९७७ वटा पुगेको छ ।

जेठ मसान्तमा क्यूआर कारोबार सङ्ख्या ५ करोड ९२ लाख ६३ हजार ४८७ रहेकोमा असार मसान्तसम्म ४३ लाख ५६ हजार ७२० वटा कारोबारले वृद्धि भएको थियो । यसले नेपालमा दैनिक भुक्तानीका लागि क्यूआर कोडको प्रयोग निरन्तर विस्तार हुँदै गएको देखाएको छ ।