काठमाडौं । इन्स्टाग्रामले प्रयोगकर्तालाई अरूका प्रोफाइल र पोस्टहरू केवल हेर्न मिल्ने नयाँ ‘रिड-ओन्ली मोड’ परीक्षण गरिरहेको छ । यो सुविधा आगामी दिनमा इन्स्टाग्रामको सशुल्क ‘प्लस’ सेवामा समावेश हुन सक्ने सम्भावना रहेको बताइएको छ ।
‘रिड-ओन्ली मोड’ सक्रिय गरेपछि प्रयोगकर्ताले सम्बन्धित प्रोफाइल र त्यहाँ रहेका पुराना पोस्टहरू हेर्न सक्नेछन् । तर, उक्त प्रोफाइलमा लाइक, कमेन्ट, म्यासेज वा फलो गर्न भने पाउने छैनन् ।
यस मोडमा सम्बन्धित व्यक्तिले पोस्ट गरेका स्टोरीसमेत हेर्न नमिल्ने व्यवस्था हुने बताइएको छ । अर्थात्, प्रयोगकर्ताले प्रोफाइल र पुराना पोस्टहरू हेर्न सक्ने भएपनि इन्स्टाग्राममा हुने अन्य अन्तरक्रियात्मक गतिविधिमा सहभागी हुन पाउने छैनन् ।
इन्स्टाग्रामले हाल यो सुविधा आन्तरिक रूपमा परीक्षण गरिरहेको छ । त्यसैले परीक्षण पूरा नभएसम्म यो सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने छैन । आगामी दिनमा परीक्षणको नतिजाका आधारमा इन्स्टाग्रामले ‘रिड-ओन्ली मोड’लाई सशुल्क सेवामा समावेश गर्ने वा नगर्ने निर्णय गर्न सक्नेछ ।
आईसीटी समाचार