काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले रसुवा–भोटेकोशी बाढी पीडितको राहत तथा उद्धारका लागि नेपाल सरकारलाई १० मिलियन अमेरिकी डलर सहयोग गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गरेको जानकारी दिएका हुन् । नेपाली रुपैयाँमा यो रकम करिब डेढ अर्ब बराबर हुन्छ ।
अर्थमन्त्री वाग्लेले नेपाल सरकारका तर्फबाट ह्वाङप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनामा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “नेपाल सरकारका तर्फबाट एनभिडियाका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रसुवा-भोटेकोशी बाढी पीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्नुभएकामा हार्दिक आभार व्यक्त गर्दछु ।”
अर्थमन्त्री वाग्लेले ह्वाङको सहयोगलाई परोपकारी र प्रेरणादायी योगदानको रूपमा उल्लेख गर्दै यसले अन्य व्यक्ति तथा संस्थालाई समेत विपद् प्रभावित नागरिकको सहयोगका लागि प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
आईसीटी समाचार