काठमाडौं । फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा देशभरबाट हजारौं युवाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्दै युवालाई राष्ट्र निर्माणको मुख्य शक्तिका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
कन्क्लेभका संयोजक राजु टण्डनले प्रतिभाशाली युवाको बढ्दो विदेश पलायन मुलुकका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सरकारी तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा विश्वप्रसिद्ध पर्वतारोही मिमा डेभिड शेर्पालाई ‘केवाईसी युथ आइकन अवार्ड २०२६’ प्रदान गरिएको थियो । उनलाई नगद एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी, इन्जिनियर सुलभ राज श्रेष्ठसहित ‘जेन्जी’ शहीद तथा नायकहरूको योगदानको सम्मानस्वरूप उनीहरूका परिवारलाई नगद ५० हजार रुपैयाँसहित विशेष सम्मान गरिएको थियो । सो अवसरमा सुलभ राज श्रेष्ठका पिता नरेन्द्र श्रेष्ठले युवालाई गुरु र अभिभावकप्रति सम्मानभाव राख्न, इमानदार बन्न र भ्रष्टाचारविरुद्ध सचेत रूपमा उभिन आग्रह गरे ।
कार्यक्रमकै क्रममा पाकिस्तानको हिमाली क्षेत्रमा हिमपहिरोमा परी पर्वतारोही निर्मल (निम्स) पुर्जा र उनको टोलीको निधन भएको खबर पुष्टि भएपछि उपस्थित सबैले एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो संघर्ष र सफलताको यात्रा साझा गर्दै युवालाई लक्ष्यप्रति प्रतिबद्ध रहन, निरन्तर मेहनत गर्न र देश निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरे ।
यसैगरी, पर्वतारोही कविता नेपाली, हास्य कलाकार मेक्सम गौडेल, कन्टेन्ट क्रियटर साई ग्रेस, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले, गायक बृजेश श्रेष्ठ, पारस बम ठकुरी (कुल ब्वाइ), कन्टेन्ट क्रियटर कुशुम नेपाल, गायक तथा संगीतकार एसटी म्यान र एक्सपर्ट डाइरेक्टर खेम संग्रौलालगायतले आफ्ना अनुभव, विचार तथा प्रस्तुति राखेका थिए ।
एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस मुख्य प्रायोजक रहेको कार्यक्रममा एनसेल फाउन्डेसनसहित विभिन्न संस्थाको सहयोग रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा, खेलकुद, प्रविधि, उद्यमशीलता र नेतृत्व विकासका क्षेत्रमा युवाको सक्रिय सहभागिता नै समृद्ध नेपालको आधार हुनेमा जोड दिएका थिए ।
आईसीटी समाचार