कीवर्डहरू -

ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै हेरफेर, मुख्य आरोपीसहित १३ जना पक्राउ

ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै हेरफेर, मुख्य आरोपीसहित १३ जना पक्राउ

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्नमेन्ट प्रोक्योरमेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा नेपाल प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै दस्तावेजहरूमा हेरफेर गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरिएको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको थियो ।

यस प्रकरणमा मुख्य आरोपितका रूपमा चितवन रत्ननगर घर भई हाल काठमाडौं बूढानीलकण्ठमा बसोबास गर्ने ऋषिकेश गौलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नयाँ बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस घटनामा संलग्न रहेको आशंकामा अन्य १२ जना निर्माण व्यवसायीसहित कूल १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई सार्वजनिक खरिद प्रक्रियामा गम्भीर हस्तक्षेप गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।