काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने सूचना सत्य हो कि होइन भनेर छुट्याउन नागरिक सचेत हुनुपर्ने बताएका छन् ।
उनले हालै “सरकारले सबै मन्त्रीलाई नयाँ मोबाइल फोन दिने तयारी गरिरहेको” भन्ने आशयमा फैलिएको कुरा पूर्ण रूपमा झूटो र बनावटी भएको स्पष्ट पारे ।
आइतबार बिहान नुवाकोटको लिखु गाउँपालिका ६ छहरे बजारमा स्थानीयसँग भेटघाट गर्दै मन्त्री तिमिल्सिनाले यस्ता गलत सूचना सरकार प्रति अनावश्यक अविश्वास फैलाउने नियतले आएका हुन सक्ने बताए । केही व्यक्तिले जानाजानी भ्रम फैलाएको हुन सक्ने उनको भनाइ थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमा कुनै पनि सूचना साझा गर्नुअघि त्यसको सत्यता र स्रोत जाँच गर्न सबैलाई आग्रह गरे । उनले सरकार जनताको करबाट उठेको पैसाको सही प्रयोग गर्न प्रतिबद्ध रहेको बताउँदै दुरुपयोग देखिए नागरिकले प्रश्न उठाउनु पर्ने पनि बताए ।
“सत्यमा आधारित प्रश्नले सरकारलाई थप जवाफदेही बनाउँछ । हामी जिम्मेवार भएर खबरदारी गर्न र प्रश्न गर्न छाड्न हुँदैन,” उनले भने, “तर खराब नियतले गलत सूचना सम्प्रेषण भएको छ भने त्यसलाई पहिचान गर्न आवश्यक छ ।”
अहिले सरकार भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको पनि उनले बताए ।
मन्त्री तिमिल्सिनाले अब बोल्नेभन्दा काम गरेर देखाउने समय आएको उल्लेख गर्दै परिणाममुखी काममा जोड दिइने बताए । सरकार गाउँ–गाउँमा पुगेर नागरिकको समस्या सुन्ने र त्यसकै आधारमा नीति बनाउने योजनामा रहेको उनको भनाइ छ ।
आईसीटी समाचार