काठमाडौं । नेपालको स्टार्टअप तथा उद्यमशीलता वातावरणलाई थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस समझदारी अनुरुप सीएनआईवाइईएफ र टीएसएनले संयुक्त रूपमा 'फाउन्डर्स हब' नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्नेछन् । फाउन्डर्स हब मार्फत प्रत्येक वर्ष १०० वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
सहभागी स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँगको पहुँच, सम्बन्ध विस्तार, लगानीको तयारी तथा सम्भावित लगानीकर्तासँग जोड्दै लगानीका नयाँ अवसर सिर्जना गरिनेछ । समझदारी पत्रमा सीएनआईवाइईएफका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ र टीएसएनका प्रमुख सञ्चालन अधिकृत सौगात ओझाले हस्ताक्षर गर्नुभयो ।
यस साझेदारीअन्तर्गत सीएनआईवाइईएफले आफ्ना सदस्य तथा साझेदार संस्थाहरूको सञ्जालमार्फत टीएसएन का कार्यक्रमहरूका लागि सम्भावित प्रायोजक, संस्थागत साझेदार र अन्य सरोकारवालासँग सहकार्य विस्तार गर्न सहजीकरण गर्नेछ ।
यो सहकार्य काठमाडौंमा मात्र सीमित नरही नेपालका विभिन्न शहर तथा उदीयमान उद्यमशीलता केन्द्रहरूमा विस्तार गरिनेछ । नवप्रवर्तन र उद्यमशीलताको पहुँच देशका विभिन्न भूगोलसम्म पुर्याउँदै स्थानीय स्तरमै नयाँ व्यवसाय र उद्यमी जन्माउने लक्ष्य यस साझेदारीले लिएको छ ।
आईसीटी समाचार