कीवर्डहरू -

यातायातको तोकिएको भाडा अब अनलाइनमै, विभागले ल्यायो नयाँ सुविधा

यातायातको तोकिएको भाडा अब अनलाइनमै, विभागले ल्यायो नयाँ सुविधा

काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले अब आफू जाने गन्तव्यको आधिकारिक भाडादर अनलाइनमै हेर्न सक्ने भएका छन् । यातायात व्यवस्था विभागले आफ्नो वेबसाइटमा ‘भाडा दर खोजी’ सेवा सञ्चालनमा ल्याएपछि यात्रुले आफू रहेको स्थानबाट गन्तव्यसम्मको तोकिएको भाडा सहजै हेर्न सक्ने व्यवस्था भएको हो ।

विभागको वेबसाइट dotm.gov.np मा राखिएको ‘भाडा दर खोजी’ शीर्षकको विकल्पमा गएर यात्रुले यात्राको गन्तव्य छनोट गरी निर्धारित भाडादर हेर्न सक्नेछन् । यसअघि सार्वजनिक यातायातको कुन गन्तव्यमा कति भाडा निर्धारण गरिएको छ भन्ने जानकारी यात्रुले सहज रूपमा अनलाइनबाट हेर्न सक्ने व्यवस्था थिएन ।

विशेष गरी चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको गुनासो यात्रुबाट आउने गरेको छ । नयाँ व्यवस्थाले यात्रुलाई आफूले तिर्नुपर्ने वास्तविक भाडाबारे जानकारी लिन सहज हुने विभागको अपेक्षा छ ।

यात्राका क्रममा भाडादरबारे शंका लागेमा यात्रुले जुनसुकै स्थानबाट विभागको वेबसाइटमा गएर सम्बन्धित गन्तव्यको तोकिएको भाडा जाँच गर्न सक्नेछन् । यसबाट सार्वजनिक यातायातमा तोकिएको भाडाभन्दा बढी रकम असुल्ने प्रवृत्ति नियन्त्रण गर्न र यात्रुलाई आधिकारिक भाडादरबारे जानकारी उपलब्ध गराउन सहयोग पुग्ने विभागको भनाइ छ ।