काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोगबाट बढिरहेका ठगी, दुर्व्यवहार, बुलिङ, चरित्र हत्या तथा भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकारले आवश्यक कानुनी व्यवस्था निर्माण गरिरहेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोगलाई सरकारले गम्भीर विषयका रूपमा लिएको बताए । उनले सामाजिक सञ्जालमार्फत हुने गलत सूचना र व्यक्तिमाथि हुने दुर्व्यवहार नियन्त्रणका विषय मन्त्रालयको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारे ।
उनका अनुसार सरकारले तर्जुमा गरिरहेको आम सञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमा गलत तथा भ्रामक सूचना प्रवाह गर्ने प्रवृत्ति नियन्त्रण गर्ने प्रावधान समेटिएका छन् । ती विधेयक आगामी दिनमा संसदमा पेश गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
सामाजिक सञ्जालको नियमनबारे मन्त्री तिमिल्सिनाले सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै प्रभावकारी कानुनी व्यवस्था निर्माण गरिने बताए । उनले पत्रकारितालाई नियन्त्रण गर्ने उद्देश्य सरकारको नभएको स्पष्ट पार्दै सञ्चार क्षेत्रलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउन कानुनी आधार आवश्यक रहेको बताए ।
आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमअन्तर्गत सामाजिक सञ्जालमा प्रसारित सामाग्रीको तथ्य जाँच गर्ने काम अघि बढाइएको पनि उनले जानकारी दिए । नियतवश गलत तथा प्रमाणविहीन समाचार र सूचना फैलाउने सञ्चारगृह तथा व्यक्तिलाई जवाफदेही बनाउनु पर्ने सांसदहरूको मागप्रति सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।
यसका लागि गृह मन्त्रालय र नेपाल प्रहरीको साइबर ब्युरोसँग निरन्तर समन्वय भइरहेको मन्त्री तिमिल्सिनाले बताए । विज्ञापन नीति र लोककल्याणकारी विज्ञापनसम्बन्धी प्रश्नको जवाफ दिँदै उनले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने सरकारको कुनै उद्देश्य नरहेको दाबी गरे । विज्ञापन बजारलाई व्यवस्थित गर्दै सञ्चारमाध्यमलाई आत्मनिर्भर बनाउने उद्देश्यले नयाँ विज्ञापन नीति २०८३ ल्याइएको उनले बताए ।
प्रेस स्वतन्त्रता र मानव अधिकारको संरक्षण लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै उनले लोककल्याणकारी विज्ञापनसम्बन्धी कार्यविधि मन्त्रालयको निर्णय प्रक्रियामा हुने अनियमितता रोक्न र स्पष्ट विधि स्थापित गर्न ल्याइएको बताए ।
यसैगरी, नेपाल टेलिभिजनबाट प्रसारित कार्टुन सामग्रीमार्फत धर्मान्तरणलाई प्रोत्साहन गरिएको भन्ने प्रश्नमा मन्त्री तिमिल्सिनाले सार्वजनिक प्रसारण संस्थामा रकम लिएर धार्मिक सामग्री प्रसारण गर्ने प्रवृत्ति रोक्न ‘पब्लिक सर्भिस ब्रोडकास्टिङ नेपाल’लाई निर्देशन दिइसकेको जानकारी दिए ।
कीर्तिमानी आरोही निर्मल पुर्जाको सम्मानमा हुलाक टिकट प्रकाशन गर्ने विषयमा हुलाक सेवा विभागसँग छलफल भइरहेको पनि उनले बताए । चिकित्सा क्षेत्रसँग सम्बन्धित घटनामा भने प्रेस काउन्सिल नेपालसँगको समन्वयमा आवश्यक छानबिन गरिने आश्वासन उनले दिएका छन् ।
आईसीटी समाचार