कीवर्डहरू -

अनुसन्धान, उद्योग र नवप्रवर्तनमा लगानी बढाउन सांसद पुनको आग्रह

अनुसन्धान, उद्योग र नवप्रवर्तनमा लगानी बढाउन सांसद पुनको आग्रह

काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद पुनले विलासी वस्तु तथा तयारी सामानभन्दा कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने आवश्यकता औँल्याए । उनले नेपालको वर्तमान कर नीति उद्योगमैत्री नभएको टिप्पणी गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने बताए ।

वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको अनुभव सुनाउँदै उनले तयारी अवस्थामा रहेका कृषि औजार आयात गर्दा कर नलाग्ने तर स्वदेशमै उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा उच्च भन्सार शुल्क तिर्नुपर्ने अवस्था रहेको उल्लेख गरेका थिए । यस्तो व्यवस्थाले स्वदेशी उद्योग प्रतिस्पर्धी बन्न नसक्ने उनको भनाइ थियो ।

सांसद पुनले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणका लागि व्यवस्थित ‘पेटेन्ट अफिस’ नहुँदा नेपाली आविष्कारकहरू समस्यामा परेको बताए । आफ्ना आविष्कार दर्ता गर्न विदेश जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय पेटेन्ट दर्ता प्रक्रिया खर्चिलो हुने भएकाले सरकारले त्यसमा अनुदानको व्यवस्था गर्नुपर्ने माग समेत राखे ।

नयाँ उद्यमी र आविष्कारकलाई प्रोत्साहन गर्न प्रारम्भिक चरणमा कर छुटको व्यवस्था आवश्यक रहेको उनले बताए । “कच्चा पदार्थमा ठूलो कर लाग्दा स्वदेशी उत्पादन महँगो हुन्छ, जसका कारण हाम्रा उद्योगहरूले प्रतिस्पर्धा गर्न सक्दैनन् । विकसित मुलुकहरूले कच्चा पदार्थमा कर लगाउँदैनन्, नेपालले पनि यस्तो नीति अवलम्बन गर्नुपर्छ,” उनले भने ।

अनुसन्धानको कार्य एक आर्थिक वर्षभित्र सीमित नहुने भएकाले बहुवर्षीय योजना र बजेटमार्फत अघि बढाउनु पर्ने सुझाव दिँदै सांसद पुनले स्वदेशी प्रतिभा र प्रविधिको विकास बिना मुलुक आत्मनिर्भर बन्न नसक्ने उल्लेख गरे । आगामी बजेटमा यी विषयलाई ठोस रूपमा सम्बोधन गर्न सरकारसँग उनले आग्रह गरे ।