काठमाडौं । अन्तरिक्षका गूढ रहस्य पत्ता लगाउने उद्देश्यका साथ अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘रोमन स्पेस टेलिस्कोप’को सफल प्रक्षेपण गरेको छ । यो टेलिस्कोपले वैज्ञानिकहरूका लागि अझै रहस्यकै विषय रहेका ब्रह्माण्डीय संरचना र घटनाबारे अध्ययन गर्न महत्वपूर्ण सहयोग पुर्याउनेछ ।
कुनै एउटा खगोलीय पिण्डमा मात्र केन्द्रित हुनुको सट्टा अन्तरिक्षको विशाल क्षेत्रलाई एकैपटक सर्वेक्षण गर्न सक्ने गरी यसलाई डिजाइन गरिएको छ । रोमन टेलिस्कोपलाई फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्पेसएक्सको फाल्कन हेभी रकेटमार्फत प्रक्षेपण गरिएको हो ।
प्रक्षेपण हिजो दिउँसो करिब ४:५७ बजे सम्पन्न भएको थियो । हाल यो टेलिस्कोप पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सन-अर्थ ल्याग्रान्ज पोइन्ट २ (एल२) तर्फ अघि बढिरहेको छ ।
सामान्य उपग्रहजस्तै पृथ्वीको परिक्रमा गर्नुको सट्टा रोमन टेलिस्कोपलाई सूर्य र पृथ्वीबीचको एल२ बिन्दु वरपरको विशेष कक्षमा स्थापित गरिनेछ । उक्त स्थानमा पुग्न करिब एक महिना लाग्ने अनुमान गरिएको छ ।
एल२ मा पुगेपछि नासाले करिब तीन महिनासम्म सञ्चालनपूर्व तयारी तथा प्राविधिक परीक्षण गर्नेछ । यस अवधिमा टेलिस्कोपका विभिन्न प्रणाली र वैज्ञानिक उपकरणको परीक्षण गरिनेछ । त्यसपछि मात्र यसले आफ्नो मुख्य वैज्ञानिक अभियान सुरु गर्नेछ ।
रोमन टेलिस्कोपको निर्माणको इतिहास पनि निकै रोचक छ । सुरुमा यसलाई नेसनल रिकोनाइसन्स अफिस (एनआरओ) को जासुसी उपग्रह कार्यक्रमका लागि डिजाइन गरिएको थियो । तर बजेट अभावका कारण उक्त कार्यक्रम बन्द भएपछि सन् २०१२ मा एनआरओले टेलिस्कोपलाई नासालाई हस्तान्तरण गरेको थियो । त्यसपछि नासाले अन्तरिक्ष अन्वेषणका लागि नयाँ उद्देश्यसहित यसलाई पुन: विकास गरेको हो ।
हबलभन्दा १०० गुणा ठूलो दृश्य क्षमता
रोमन टेलिस्कोपको मुख्य विशेषतामध्ये यसमा जडान गरिएको वाइड फिल्ड इन्स्ट्रुमेन्ट (Wide Field Instrument) प्रमुख हो । यसको २.४ मिटर व्यासको मुख्य ऐना हबल स्पेस टेलिस्कोपको ऐनासँग करिब समान आकारको छ । तर वाइड फिल्ड प्रविधिका कारण रोमनले एकैपटक खिच्ने तस्बिरमा हबलले भन्दा करिब १०० गुणा ठूलो आकाशीय क्षेत्र अवलोकन गर्न सक्नेछ ।
रोमन टेलिस्कोपले मुख्य रूपमा डार्क इनर्जी र डार्क म्याटरको अध्ययन गर्नेछ । यसका साथै आकाश गंगाहरूको विकासक्रम बुझ्न र हाम्रो सौर्यमण्डलबाहिर रहेका ग्रह अर्थात् एक्सोप्लानेटको खोजी गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।
जेम्स वेब स्पेस टेलिस्कोप विशेष खगोलीय पिण्डको सूक्ष्म अध्ययनका लागि उपयोगी मानिन्छ भने रोमन टेलिस्कोपले अन्तरिक्षको विशाल क्षेत्रको सर्वेक्षण गर्नेछ । यसले ब्रह्माण्डको संरचना, विकास र विस्तारसँग सम्बन्धित जटिल प्रश्नहरूको उत्तर खोज्न वैज्ञानिकहरूलाई महत्वपूर्ण तथ्य उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार