काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृत्रिम बौद्धिकता (एआई) प्रविधिलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउने नीति लिएको छ । संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एआई पूर्वाधार, जनशक्ति र लगानीलाई केन्द्रमा राखेर तीन महत्त्वपूर्ण कार्यक्रम घोषणा गरेका हुन् ।
सरकारले काठमाडौंको स्युचाटारमा नेपालको पहिलो एआई कम्प्युट केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । स्वदेशमै उपलब्ध जलविद्युत् ऊर्जालाई आधुनिक डिजिटल सेवासँग जोड्दै उच्चस्तरीय कम्प्युटिङ पूर्वाधार निर्माण गर्ने लक्ष्य लिइएको हो । यसका लागि ठूलो संख्यामा एआई प्रोसेसिङ युनिट (जीपीयू) खरिद गरिनेछ, जसबाट नेपाली स्टार्टअप र प्रविधि उद्यमीहरूले सुलभ शुल्कमा उन्नत कम्प्युट क्षमता उपयोग गर्न सक्नेछन् ।
यस्तै एआई अनुसन्धान र विकासमा संलग्न अन्तर्राष्ट्रिय स्तरका नेपाली विज्ञलाई नेपालसँग जोड्ने कार्यक्रम पनि सरकारले अघि सारेको छ । बजेटअनुसार विश्वका विभिन्न देशमा कार्यरत कम्तीमा १५ जना नेपाली एआई अनुसन्धानकर्तालाई विशेष फेलोसिप उपलब्ध गराउने जनाएको छ । साथै, उनीहरूलाई नेपाल फर्किएर प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा योगदान दिन प्रोत्साहन गरिने सरकारको योजना छ ।
यसैगरी सरकारले दीर्घकालीन तथा रणनीतिक महत्वका परियोजनामा लगानी जुटाउन ‘मातृभूमि कोष’ स्थापना गर्ने घोषणा गरेको छ । उक्त कोषमार्फत देशभित्र एआई फ्याक्ट्री स्थापना गरिनेछ । साथै, ऊर्जा सुरक्षालाई ध्यानमा राख्दै कम्तीमा तीन महिनासम्म पुग्ने इन्धन भण्डारण क्षमता विस्तार गर्ने पूर्वाधार निर्माणमा समेत लगानी गरिने अर्थमन्त्री वाग्लेले बताएका छन् ।
आईसीटी समाचार