काठमाडौं । नेट टिभी प्रालिले सूचना तथा प्रसारण विभागबाट आधिकारिक रूपमा ओटीटी प्रसारण सेवा सञ्चालनको इजाजतपत्र प्राप्त गरेको छ । नेटटिभीका सिईओ निरन राजभण्डारीले यो ऐतिहासिक र गौरवपूर्ण उपलब्धि सार्वजनिक गर्न पाउँदा अत्यन्तै गौरव महसुस भएको बताएका छन् ।
कम्पनीले २०१७ मै ओटीटी एप सार्वजनिक गरेको थियो । नेटटिभी नेपालकै पहिलो आईपीटिभी सेवा प्रदायक समेत हो । नेपालमा भिडियो स्ट्रिमिङ र डिजिटल कन्टेन्टको जग बसालेको यो प्लेटफर्मले अब नेपाल सरकारबाट ओटीटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स प्राप्त गरेसँगै यस क्षेत्रमा नयाँ उचाइ हासिल गरेको छ ।
‘यस इजाजतपत्रले हामीलाई नेटटिभी एप र हाम्रो वेबसाइट (nettv.com.np) मार्फत नेपालभर २४ सै घण्टा सेवा प्रदान गर्ने अधिकार सुनिश्चित गरेको छ । अब हामीले आधिकारिक रूपमा नेपाली, अङ्ग्रेजी, हिन्दी लगायतका भाषाहरूमा इजाजतप्राप्त टेलिभिजन च्यानलहरू, अनुमति प्राप्त विदेशी कार्यक्रमहरू तथा उत्कृष्ट डिजिटल कार्यक्रमहरू प्रसारण गर्नेछौँ’, सीईओ राजभण्डारीले भने ।
कम्पनीका अनुसार ‘एउटै सब्सक्रिप्सन, असीमित मनोरञ्जनको मूल मन्त्रसहित नेटटिभीले आफ्ना प्रयोगकर्ताहरूका लागि पहिलेभन्दा अझ धेरै र उत्कृष्ट कन्टेन्टहरू पस्किएको छ । यसमा १००० भन्दा बढी चलचित्रहरू, ब्लकबस्टर चलचित्रहरू, रोचक सिरिजहरू, लोकप्रिय स्वदेशी तथा विदेशी ड्रामाहरू, लाइभ स्पोर्ट्स, लाइभ टिभी र असीमित च्यानलहरू जुनसुकै समय अनि जहाँसुकैबाट आफ्नो मोबाइल, ट्याब्लेट वा टिभी स्क्रिनमा आफ्नो समय अनुकूल जहाँबाट पनि हेर्न सकिने सुविधा उपलब्ध छ ।
आईसीटी समाचार