काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस (NAS-IT) को २०२६–२०२९ कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको चौथो वार्षिक साधारणसभापछि नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा दीपेन चापागाईं चयन भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा विभूषण विष्ट, महासचिवमा श्रेया श्रेष्ठ र कोषाध्यक्षमा सागर केसी चयन भएका छन् । कार्यसमिति सदस्यमा पल्लव पराजुली, प्रार्थना शाख, सुब्रत ज्ञवाली, कैलाश राज बिजयनन्द र नारायण कोइराला निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्ष नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रको विकास, प्रवर्द्धन तथा विस्तारका लागि काम गर्ने जनाएको छ । नेपालका प्रविधि कम्पनी तथा जनशक्तिका लागि स्वदेश तथा विदेशमा थप अवसर सिर्जना गर्ने र देशको आईटी उद्योगलाई थप सुदृढ बनाउने लक्ष्यसहित काम गर्ने बताइएको छ ।
नयाँ नेतृत्वले NAS-IT का सदस्य, साझेदार तथा समग्र प्रविधि समुदायसँग सहकार्य गर्दै नेपालको आईटी उद्योगलाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ । नयाँ कार्यसमितिले आगामी कार्यकाललाई नेपालको प्रविधि क्षेत्रका लागि उपलब्धिमूलक बनाउने लक्ष्य लिएको छ ।
आईसीटी समाचार