कीवर्डहरू -

नाबालिग सुरक्षा लक्षित नयाँ नियम : जापानमा सामाजिक सञ्जाल कम्पनीमाथि कडाइ गर्ने तयारी

नाबालिग सुरक्षा लक्षित नयाँ नियम : जापानमा सामाजिक सञ्जाल कम्पनीमाथि कडाइ गर्ने तयारी

काठमाडौं । जापानमा सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन सरकारसम्बद्ध एक प्यानलले कडा उमेर प्रमाणीकरण प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको छ ।

सञ्चार मन्त्रालयअन्तर्गतको उक्त समितिले किशोर–किशोरीलाई अनलाइन जोखिमबाट जोगाउन सामाजिक सञ्जाल कम्पनीहरूको जिम्मेवारी बढाउने प्रस्ताव अघि सारेको हो ।

समाचार संस्था क्योदो न्युजका अनुसार प्यानलले प्रयोगकर्ताको उमेर पहिचान अझ कडाइका साथ गर्ने तथा आवश्यक परे केही सुविधाहरूमा सीमितता लगाउने व्यवस्था आवश्यक रहेको बताएको छ ।

तर, समितिले सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाउने विकल्प भने अस्वीकार गरेको छ । प्रतिवेदनमा किशोर–किशोरीमा यी प्लेटफर्म प्रतिको अत्यधिक निर्भरता घटाउँदै उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य सुरक्षित राख्नुपर्नेमा जोड दिइएको छ ।

स्मार्टफोन र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नाबालिगहरूमा मानसिक स्वास्थ्य समस्या, साइबर जोखिम र केही अवस्थामा आपराधिक गतिविधिमा संलग्नता बढिरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । हाल जापानमा लागू नियमहरू मुख्यतः मोबाइल कम्पनीको फिल्टरिङ सेवा र अभिभावकको निगरानीमा सीमित छन् ।

यसैबीच, जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल कम्पनी र स्मार्टफोन अपरेटिङ सिस्टम प्रदायकहरूको भूमिकालाई अझ विस्तार गर्ने विषयमा छलफल गरिरहेको छ ।

बाल तथा परिवार एजेन्सीले अन्तिम प्रतिवेदन प्राप्त भएपछि आवश्यक कानुनी संशोधन गर्ने वा नगर्ने निर्णय गर्नेछ । उक्त प्रतिवेदन आगामी गर्मी यामभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ ।