काठमाडौं । न्युयोर्क सहरका मेयर जोहरान ममदानीले नगरका सार्वजनिक विद्यालयमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमा अस्थायी रोक लगाएका छन् ।
मेयर ममदानीका अनुसार आगामी सेमेस्टरदेखि प्राथमिक तथा माध्यमिक तहका विद्यालयमा अध्ययनरत १४ वर्षसम्मका विद्यार्थीलाई जेनेरेटिभ एआई प्रयोग गर्न अनुमति दिइने छैन । यस निर्णयबाट करिब ६ लाख विद्यार्थी प्रभावित हुने बताइएको छ ।
जेनेरेटिभ एआई भनेको प्रयोगकर्ताले दिएको निर्देशन वा ‘प्रम्प्ट’का आधारमा पाठ, तस्बिरलगायत विभिन्न प्रकारका सामाग्री सिर्जना गर्न सक्ने प्रविधि हो । च्याटजीपीटी यसका लोकप्रिय उदाहरणमध्ये एक हो ।
ममदानीले बालबालिकाको सिकाइ र व्यक्तिगत विकासका लागि शिक्षक तथा मानवीय सम्बन्ध महत्वपूर्ण हुने बताएका छन् । उनका अनुसार विद्यार्थीले आफ्ना साथीहरूसँग सहकार्य गर्दै सीप विकास गर्नुका साथै शिक्षकसँग सम्बन्ध निर्माण गर्न र कठिन समस्याको समाधान आफैँ खोज्न सिक्नुपर्ने हुन्छ ।
नयाँ नीतिअन्तर्गत विद्यालयमा विद्यार्थीको स्क्रिन समयसम्बन्धी निर्देशिका पनि लागू गरिने बीबीसीले जनाएको छ । कक्षा ३ देखि ५ सम्मका विद्यार्थीका लागि विद्यालयमा स्क्रिन समय ३० मिनेटमा सीमित गर्न सिफारिस गरिएको छ भने कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि ४५ मिनेट निर्धारण गरिएको छ ।
यस्तै, हाई स्कुलसहित सबै तहका विद्यार्थीलाई ‘कम्प्यानियन च्याटबट’ प्रयोग गर्न निषेध गरिनेछ । हाई स्कुलका विद्यार्थीले भने वर्षमा दुईपटक एआईसम्बन्धी विशेष अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मेयर ममदानीले नयाँ नीतिको प्रभावकारिता वर्षभरि नजिकबाट अनुगमन गरिने बताएका छन् । उनले यो नीति स्थायी वा अपरिवर्तनीय नभएको स्पष्ट पार्दै आवश्यकताअनुसार यसको समीक्षा गरिने बताएका छन् ।
उनका अनुसार अधिकारीहरूले नीतिले अपेक्षित परिणाम दिइरहेको छ कि छैन भन्ने विषयमा निरन्तर निगरानी गर्नेछन् ।
आईसीटी समाचार