काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट हुन सक्ने जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी गराउने उद्देश्यले निरज भुसालले ‘रसुवा-भोटेकोशी बाढी’ वेबसाइट सञ्चालनमा ल्याएका छन् ।
वेबसाइट https://nirajbhusal.github.io/rasuwa-flood-bulletin मार्फत रसुवाको भोटेकोसी तथा आसपासका नदी क्षेत्रमा बाढीको अवस्था, जोखिम र आवश्यक सतर्कतासम्बन्धी सूचना उपलब्ध गराउने प्रयास गरिएको छ ।
बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको अवस्थामा स्थानीय बासिन्दा तथा तल्लो तटीय क्षेत्रका नागरिकलाई बाढीको अवस्थाबारे जानकारी गराउनु महत्वपूर्ण बनेको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै भुसालले बाढीसम्बन्धी सूचना एकै स्थानबाट सहज रूपमा हेर्न सकिने गरी वेबसाइट सुरु गरेका हुन् ।
‘रसुवा-भोटेकोशी बाढी’ मा भोटेकोशी नदीको बाढीसम्बन्धी पछिल्लो अवस्था तथा जोखिमबारे जानकारी राखिने उद्देश्य रहेको छ । यसले विशेष गरी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आपत्कालीन अवस्थामा बाढीको अवस्था छिटो परिवर्तन हुन सक्ने भएकाले वेबसाइटमा उपलब्ध जानकारीसँगै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनालाई समेत आधार बनाउन आग्रह गरिएको छ ।
आईसीटी समाचार