काठमाडौं । नेपालमा औपचारिक रूपमा क्वान्टम कम्प्युटिङसम्बन्धी व्यवसाय तथा प्रविधि विकासको काम सुरु भएको छ । क्वान्टम कम्प्युटिङ विज्ञ उज्ज्वल रोयको नेतृत्वमा नेपालको पहिलो क्वान्टम कम्प्युटिङ कम्पनी Quantum Super Intelligence Pvt. Ltd. ले आफ्नो औपचारिक सञ्चालन सुरु गरेको हो ।
कम्पनीले क्वान्टम सफ्टवेयर विकाससँगै अन्तर्राष्ट्रिय क्वान्टम कम्प्युटिङ साझेदारहरूलाई इन्जिनियरिङ तथा अपरेसनसम्बन्धी सहयोग उपलब्ध गराउने जनाएको छ । काठमाडौंमा मुख्यालय रहेको कम्पनीले नेपाललाई क्वान्टम प्रविधिसम्बन्धी दक्ष जनशक्तिको हबका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले प्रारम्भिक चरणमा २० जना इन्जिनियर तथा विशेषज्ञ सम्मिलित टोलीबाट काम सुरु गरेको छ । क्वान्टम कम्प्युटिङसम्बन्धी माग र अवसर बढ्दै जाँदा जनशक्ति तथा सेवाको दायरा उल्लेख्य रूपमा विस्तार गर्ने योजना कम्पनीको छ ।
कम्पनीका संस्थापक उज्ज्वल रोयसँग Micron, Intel, IBM र Meta लगायतका प्रविधि कम्पनीमा १५ वर्षभन्दा बढीको इन्जिनियरिङ अनुभव रहेको जनाइएको छ । साथै, उहाँसँग एआई कम्पनी निर्माण तथा विस्तारको अनुभवसमेत रहेको छ । रोयले नेपालको राष्ट्रिय एआई नीतिका विषयमा नेपाल सरकारलाई परामर्श दिनुका साथै नेपालको पहिलो National AI Policy को मस्यौदा तयार गर्ने समितिको अध्यक्षता गरेका थिए ।
Quantum Superintelligence को सुरुवातले नेपालको डीप टेक क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । विशेष गरी क्वान्टम सफ्टवेयर विकास, उच्चस्तरीय प्रविधि अनुसन्धान तथा अन्तर्राष्ट्रिय परियोजनामा नेपाली इन्जिनियर र विशेषज्ञको सहभागिता बढाउन यसले योगदान पुर्याउने कम्पनीको विश्वास छ ।
क्वान्टम कम्प्युटिङ विश्वकै तीव्र गतिमा विकास भइरहेको अत्याधुनिक प्रविधिमध्ये एक हो । यस क्षेत्रमा विश्वका विभिन्न मुलुक तथा प्रविधि कम्पनीहरूबीच प्रतिस्पर्धा बढिरहेका बेला नेपालमा पनि यससम्बन्धी कम्पनी स्थापना हुनु नेपाली प्रविधि क्षेत्रका लागि महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ ।
कम्पनीले नेपालमा उपलब्ध प्रतिभाशाली युवालाई क्वान्टम कम्प्युटिङ तथा अन्य डीप टेक क्षेत्रमा सहभागी गराउँदै उनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्य राखेको छ । यसबाट उच्च मूल्यका प्रविधि क्षेत्रमा रोजगारी सिर्जना हुनुका साथै नेपालको सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी र लगानी आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार Quantum Super Intelligence ले दीर्घकालमा नेपालमा क्वान्टम प्रविधिसम्बन्धी स्थानीय विशेषज्ञता विकास गर्दै अन्तर्राष्ट्रिय बजारका लागि आवश्यक सफ्टवेयर तथा इन्जिनियरिङ सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले नेपाललाई क्वान्टम टेक्नोलोजी ट्यालेन्टको हबका रूपमा स्थापित गर्ने र विश्वव्यापी क्वान्टम कम्प्युटिङको विकासमा नेपाली जनशक्तिको सहभागिता बढाउने लक्ष्यसहित काम अघि बढाउने जनाएको छ ।
आईसीटी समाचार