कीवर्डहरू -

बाढीपछिको ‘डिजिटल सर्वे’ : तस्बिर, भिडियो र क्षति विवरण एउटै प्रणालीमा, बनाइँदैछ एकीकृत डिजिटल नक्सा

बाढीपछिको ‘डिजिटल सर्वे’ : तस्बिर, भिडियो र क्षति विवरण एउटै प्रणालीमा, बनाइँदैछ एकीकृत डिजिटल नक्सा

काठमाडौं । बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे एकीकृत सूचना तयार गर्न विभिन्न निकाय तथा व्यक्तिले ड्रोनमार्फत संकलन गरेका तस्बिर, भिडियो, नक्सांकन र क्षति मूल्यांकनसम्बन्धी तथ्यांक एउटै केन्द्रीय प्रणालीमा संकलन गरिने भएको छ ।

विभिन्न ड्रोन पाइलट, ड्रोन समूह, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, सञ्चारमाध्यम र अन्य संघ संस्थाले प्रभावित क्षेत्रमा संकलन गरिरहेका एरियल फोटो, भिडियो, म्यापिङ तथा एसेसमेन्ट डाटालाई व्यवस्थित रूपमा एकीकृत गर्ने योजना अघि सारिएको हो ।

योजनाअनुसार सम्बन्धित सबै ड्रोन डेटा DRRT Central Data Desk मार्फत संकलन गरिनेछ । प्राप्त सामाग्रीलाई आवश्यकताअनुसार प्रशोधन, प्रमाणीकरण र व्यवस्थित गरिने जनाइएको छ ।

प्रमाणीकरणपछि उपयोगी तथा विश्वसनीय तथ्यांकलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) सहित सम्बन्धित उद्धार तथा प्रतिकार्य निकायलाई उपलब्ध गराइनेछ । यसबाट विपद् प्रभावित क्षेत्रको अवस्थाबारे यथार्थ जानकारी प्राप्त गर्न तथा राहत, उद्धार र अन्य प्रतिकार्यका लागि निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विशेष गरी सडक, पुल, बस्ती, नदीको अवस्था, बाढीले पुर्‍याएको क्षति तथा प्रभावित क्षेत्रको भौगोलिक अवस्थासम्बन्धी ड्रोनबाट संकलित दृश्य सामाग्रीलाई एकीकृत गर्दा स्थलमै पुगेर विवरण संकलन गर्न कठिन भएका स्थानको अवस्था समेत पहिचान गर्न सहज हुने बताइएको छ ।

यस अभियानअन्तर्गत सम्बन्धित ड्रोन पाइलट, अपरेटर, संघ संस्था, NGO/INGO तथा सञ्चारमाध्यमलाई आफूले संकलन गरेका सम्बन्धित ड्रोन डेटा उपलब्ध गराउन आग्रह गरिएको छ । प्राप्त सामाग्रीलाई DRRT Central Disaster Data Collection Form मार्फत बुझाउन अनुरोध गरिएको छ ।

विभिन्न स्रोतबाट छरिएर रहेका विपद्सम्बन्धी तथ्यांकलाई एउटै स्थानमा संकलन गरी प्रमाणित र उपयोगी सूचना तयार गर्ने उद्देश्यले यो व्यवस्था अघि सारिएको हो । यसरी संकलित तथ्यांकले विपद्पछिको अवस्थाको समग्र मूल्यांकन, प्राथमिकता निर्धारण तथा प्रभावकारी उद्धार र राहत व्यवस्थापनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।