कीवर्डहरू -

आईटी करियरका लागि व्यावहारिक सिकाइ, न्यु समिट कलेजमा ‘वर्डप्रेस मिटअप’ आयोजना

आईटी करियरका लागि व्यावहारिक सिकाइ, न्यु समिट कलेजमा ‘वर्डप्रेस मिटअप’ आयोजना

काठमाडौं । वर्डक्याम्प काठमाडौं २०२६ को तयारीस्वरूप नयाँ बानेश्वरस्थित न्यु समिट कलेजमा आइतबार एक दिने ‘वर्डप्रेस मिटअप’ आयोजना गरिएको छ । ओपन सोर्स प्रविधिको प्रवर्द्धन र सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ६० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै न्यु समिट कलेजका प्रिन्सिपल चोकराज दवाडीले सूचना प्रविधिको क्षेत्रमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभवको महत्त्व बढ्दै गएको बताए । उनले उद्योगसँग जोडिएका यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यको करियर निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कलेजले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने बताए ।

null

मिटअपमा सूचना प्रविधि क्षेत्रमा सक्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय कम्पनीसँग आबद्ध नेपाली विज्ञहरूले आफ्ना अनुभव र ज्ञान सहभागीहरूसँग साझा गरेका थिए । रिगोरस वेबका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र श्रेष्ठले वर्डप्रेसको विकासक्रम, यसको उपयोगिता तथा नेपालमा वर्डप्रेस समुदाय विस्तारका विषयमा प्रस्तुति दिएका थिए ।

त्यसैगरी, वर्डप्रेस काठमाडौंका आयोजक एवं वर्डप्रेस डेभलपर सरोज खनालले कार्यक्रमको मुख्य प्राविधिक सत्र सञ्चालन गर्दै सहभागीहरूलाई वर्डप्रेसमार्फत वेबसाइट निर्माण, विकास प्रक्रिया र प्रयोगसम्बन्धी व्यावहारिक प्रशिक्षण दिएका थिए । उनले वर्डप्रेसको आधारभूत संरचनादेखि वेबसाइट विकासका विभिन्न पक्षबारे प्रयोगात्मक अभ्याससमेत गराएका थिए ।

null

कार्यक्रममा सहभागी विद्यार्थीहरूले उद्योगमा कार्यरत अनुभवी विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्राप्त भएको र व्यावहारिक प्रशिक्षणले आफ्नो प्राविधिक क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका थिए ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थी र उद्योगबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै नेपालमा ओपन सोर्स प्रविधिप्रति रुचि र सहभागिता बढाउन पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।