कीवर्डहरू -

प्रोटोनले नेपाललाई दियो २ लाख रिङ्गिट बराबरका ड्रोन

प्रोटोनले नेपाललाई दियो २ लाख रिङ्गिट बराबरका ड्रोन

काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब दुई लाख रिङ्गिट बराबरको ड्रोन उपलब्ध गराएको छ । रसुवास्थित भोटेकोशीमा आएको बाढी र त्यसबाट प्रभावित मानवीय तथा विपद् व्यवस्थापनका लागि उक्त ड्रोन सरकारलाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।

उक्त ड्रोनले विपद्का बेला प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने प्रोटोनको विश्वास छ । विशेष गरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने कम्पनीले जनाएको छ ।

मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी नाडमा (एनएडीएमए) ले यसको व्यवस्थापन तथा समन्वय गरेको हो । कम्पनीका अनुसार ड्रोनहरू शुरूमा मलेसियास्थित स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम स्मार्ट (एसएमएआरटी) को मुख्यालयमा नाडमा (एनएडीएमए) लाई हस्तान्तरण गरिएको थियो ।

मलेसियाको मानवीय सहायता तथा विपद् उद्धार अभियानअन्तर्गत हाल नेपालमा खटिएको स्मार्ट (एसएमएआरटी) को टोलीद्वारा ड्रोन नेपालसम्म ल्याउने व्यवस्था मिलाइएको थियो । यी ड्रोन नेपाल सरकारका लागि प्रदान गरिएका र नेपाल सरकारकै स्वामित्वमा रहने पनि उल्लेख गरिएको छ ।

ड्रोन हस्तान्तरण समारोहमा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ र नाडमा (एनएडीएमए) का महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकीमको उपस्थिति रहेको थियो । उक्त हस्तान्तरण कार्यक्रममा मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधिहरू चु ह्वाई जेङ र इन्चिक जुल इज्बान हम्जाको पनि सहभागिता रहेको थियो ।