काठमाडौं । उद्योग तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको पहलमा उद्योग तथा आपूर्ति मन्त्रालयले ड्यासबोर्ड प्रणाली सञ्चालनमा ल्याएको छ । मन्त्रालयका गतिविधि तथा उद्योग, कम्पनी र फर्म दर्तासम्बन्धी विवरण सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो ।
नयाँ ड्यासबोर्डमार्फत दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा फर्म दर्तासम्बन्धी विवरण रियल टाइममा अद्यावधिक हुने व्यवस्था गरिएको छ । यससँगै नेपालमा हालसम्म कति उद्योग तथा कम्पनी दर्ता भई सञ्चालनमा छन् भन्ने तथ्यांक अब सर्वसाधारणले सहज रूपमा हेर्न सक्ने भएका छन् ।
यसअघि उद्योग तथा कम्पनी दर्तासम्बन्धी समग्र विवरण प्राप्त गर्न कठिन हुने गरेकोमा ड्यासबोर्ड सञ्चालनपछि आवश्यक सूचना एकै स्थानबाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।
ड्यासबोर्डमा हाल उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणालीसँग सम्बन्धित विवरण समावेश गरिएको छ ।
मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षमा प्रदेशस्तरमा हुने उद्योग तथा कम्पनी दर्तासम्बन्धी विवरणसमेत ड्यासबोर्डमा समेट्ने योजना रहेको छ । सूचना प्रविधि प्रणाली नभएका अन्य निकायहरूको विवरण पनि डाइनामिक फर्ममार्फत संकलन गरी समावेश गर्न सकिने व्यवस्था गरिएको छ ।
मन्त्रालयमा स्थापना गरिएको उक्त ड्यासबोर्डलाई विभिन्न निकायका प्रणालीसँग एपीआईमार्फत एकीकृत गरिएको छ । यसबाट सम्बन्धित निकायको तथ्यांक स्वचालित रूपमा अद्यावधिक भई रियल टाइम डाटा उपलब्ध हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
आईसीटी समाचार