काठमाडौं । सनत कुमार पौडेल एफवानसफ्ट इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । एफवानसफ्टले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा पौडेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरेको घोषणा गरेको हो ।
उनी सह-संस्थापक तथा निर्देशक सुबास शर्मा पछि सीईओको जिम्मेवारी सम्हाल्ने कम्पनीले जानकारी दिएको छ । शर्माले उक्त भूमिका एक दशकभन्दा बढी समयसम्म सफलतापूर्वक सम्हालेका थिए । शर्माले एफवानसफ्ट गुपको दृष्टिकोणलाई व्यवहारमा उतार्दै इसेवा, फेनपे लगायतका डिजिटल वित्तीय समाधानहरूको विकास र विस्तारमा महत्वपूर्ण नेतृत्व गरेका थिए ।
यी पहलहरूले नेपालको डिजिटल वित्तीय प्रणालीलाई रूपान्तरण गर्नुका साथै नागरिक, घर परिवार तथा व्यवसायहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेका छन् । उनी अब निर्देशकको भूमिकामा रहँदै एफवानसफ्ट गुपको रणनीतिक दिशा निर्देशनमा संलग्न हुनेछन् ।
हाल ‘फोन एनएक्टी प्रालि’का सीईओ रहेका सनत कुमार पौडेलले नयाँ जिम्मेवारीसँगै दुवै संस्थाको नेतृत्व गर्नेछन् । एफवानसफ्ट ग्रुपमा आवद्ध हुनुअघि उनी नबिल बैंकमा एक दशकभन्दा बढी समय कार्य गर्दै पेमेन्ट टेक्नेलिज म्यानेजमेन्ट तथा डिजिटल ट्रान्सफर्मेसन प्रोग्रामको नेतृत्व गरेका थिए । उनीसँग दुई दशकभन्दा बढी आईसीटी क्षेत्रको अनुभव छ ।
यो नेतृत्व हस्तान्तरणले एफवानसफ्टको सुदृढ नेतृत्व विकास, सुशासन तथा निरन्तरताको संस्कृतिलाई झल्काउँछ । तेस्रो दशकमा प्रवेश गर्दै कम्पनीले आफ्नो संस्थागत क्षमतालाई अझ मजबुत बनाउने, नेपालभित्र प्रभाव विस्तार गर्ने र फिनटेक क्षमतालाई विश्वव्यापी स्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ ।
आईसीटी समाचार