काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका कामलाई प्रभावकारी बनाउन स्वयंसेवकका रूपमा सहयोग गर्न इच्छुक विज्ञ तथा दक्ष व्यक्तिहरूलाई आह्वान गरेका छन् ।
मन्त्रालयको विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले नवप्रवर्तन क्षेत्रलाई अघि बढाउन विभिन्न विज्ञको सहयोग आवश्यक रहेको बताएका हुन् ।
उनले नवप्रवर्तनसम्बन्धी प्राविधिक तथा वैज्ञानिक ज्ञान भएका व्यक्तिहरू आफ्नो साथमा रहेपनि त्यसलाई आवश्यक कानुनी संरचना र नीतिगत ढाँचामा रूपान्तरण गर्न कानुन तथा नीति निर्माणका जानकारहरूको आवश्यकता रहेको उल्लेख गरे ।
मन्त्री पुनले सरकारभित्र वा बाहिर रहेका इच्छुक विज्ञहरूले मन्त्रालयका काममा स्वयंसेवकका रूपमा योगदान गर्न सक्ने भन्दै सहकार्यका लागि आग्रह गरेका छन् । उनले विज्ञहरूको ज्ञान र अनुभवलाई उपयोग गर्दै नवप्रवर्तन क्षेत्रको विकास गर्ने लक्ष्य रहेको बताए ।
आईसीटी समाचार