काठमाडौं । शुक्लागण्डकी नगरपालिकाले सुझाव तथा गुनासो संकलनका लागि हालै सार्वजनिक गरेको अनलाइन एप्लिकेसनलाई लिएर प्राविधिक र सुरक्षाको दृष्टीकोणमा प्रश्न चिन्ह उठेको छ ।
नगरपालिकाले यही वैशाख ४ गते आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त Web App सञ्चालनमा आएको जानकारी सार्वजनिक गरेको थियो । तर उक्त प्रणालीको डोमेन “shuklaapp.info” रहेको पाइएपछि यसको औपचारिकता र सरकारी मापदण्डबारे प्रश्न उठेको छ । सामान्यत: नेपाल सरकारका आधिकारिक वेबसाइटहरू “.gov.np” डोमेनमा सञ्चालन हुनुपर्ने मान्यता रहेको छ ।

प्राविधिक विश्लेषण अनुसार उक्त प्रणालीको संरचना पनि कमजोर देखिएको छ । एप्लिकेसनभित्र प्रयोग गरिएको सरकारी निशानछाप समेत कृत्रिम बुद्धिमत्ता (AI) मार्फत तयार गरिएको जस्तो देखिएको छ ।
प्रयोगकर्ता इन्टरफेसमा “Continue as Guest”, “My Tickets” र “Open Ticket Anonymously” जस्ता विकल्पहरू उपलब्ध छन् । तर टिकट सिर्जना गर्ने क्रममा देखिने “Teams” ड्रपडाउनमा “Devops”, “Server” र “Injamul” जस्ता नामहरू समावेश गरिएको पाइएपछि थप प्रश्न उठेका छन् ।

त्यसैगरी, प्रणालीको फुटर भागमा “Synchlab Coding” नामक कम्पनी उल्लेख गरिएको छ । उक्त कम्पनीको वेबसाइट हेर्दा यो एक ट्युटोरियल ब्लग तथा साधारण वेब विकास सम्बन्धी सामाग्री प्रकाशित गर्ने प्लेटफर्म जस्तो देखिन्छ ।
सोही वेबसाइटमा रहेको “Helpdesk Ticketing System with jQuery, PHP & MySQL” नामक खुला स्रोत (open-source) प्रोजेक्टसँग नगरपालिकाले प्रयोग गरेको प्रणाली मिल्दोजुल्दो देखिन्छ ।
त्यस्तै, उक्त प्रणालीसँग सम्बन्धित एक युट्युब भिडियो डेमो समेत उपलब्ध छ, जसले प्रणालीको आधारभूत संरचना सोही खुला स्रोत प्रोजेक्टसँग मिल्ने संकेत दिएको छ ।
सार्वजनिक सेवा प्रवाहका लागि सूचना प्रविधि प्रणाली निर्माण गर्दा सामान्यत: TOR (Terms of Reference), सम्झौता प्रक्रिया, गुणस्तर परीक्षण तथा सुरक्षा अडिट अनिवार्य हुने व्यवस्था रहेको छ । तर यस परियोजनामा ती प्रक्रिया कति पालना गरियो भन्ने विषयमा स्पष्टता देखिएको छैन ।
यसैबीच, नगरपालिकामा सूचना प्रविधि (IT) सम्बन्धी जनशक्तिको अभाव वा निष्क्रियता सम्बन्धी प्रश्न पनि उठेका छन् । यस सम्बन्धमा हामीले सूचना अधिकारी अनिल खनाललाई 9856043417 नम्बरमा सम्पर्क गर्दा प्रयास असफल भयो ।
आईसीटी समाचार