कीवर्डहरू -

स्मार्टवाचको डेटा, शरीरको वास्तविक सत्य होइन : हेल्थ ट्र्याकर प्रयोग गर्दा यी कुरा जान्नैपर्छ

स्मार्टवाचको डेटा, शरीरको वास्तविक सत्य होइन : हेल्थ ट्र्याकर प्रयोग गर्दा यी कुरा जान्नैपर्छ

काठमाडौं । आजको समयमा स्मार्टवाच, स्मार्ट रिङ, फिटनेस ट्र्याकर जस्ता वियरेबल डिभाइसहरू केवल तपाईंले कति पाइला हिँड्नुभयो भन्ने मात्र बताउँदैनन्, ती त लगभग एक “मिनी क्लिनिक” जस्तै बनेका छन् । यिनले तपाईंको निन्द्रा, ब्लड अक्सिजन, स्ट्रेस, रिकभरी, वर्कआउट र कार्डियो फिटनेस समेत लगातार निगरानी गर्न सक्छन् । स्वास्थ्य प्रति सचेत वयस्कहरू र दीर्घकालीन स्वास्थ्य समस्या झेलिरहेका मानिसहरूका लागि यी निकै उपयोगी मार्गदर्शक हुन सक्छन् ।

तर समस्या कहाँ छ भने, यिनै डिभाइसका डेटा बारम्बार हेर्दै बस्दा अनावश्यक चिन्ता, लक्षणको अतिविश्लेषण र उपचारबारे डर बढ्न सक्छ । जर्नल अफ द अमेरिकन हार्ट एसोसिएसनमा प्रकाशित एक अध्ययन अनुसार, यस्तो बानीले केही मानिसलाई एंग्जाइटी र डिप्रेसनतर्फ समेत धकेल्न सक्छ ।

यसले तनाव, थकान र शारीरिक अस्वस्थता थप बढाउने जोखिम हुन्छ । केही मानिस त आवश्यक नभए पनि बारम्बार आफ्ना स्मार्टवाचमा ईसीजी मापन गर्छन् वा कुनै लक्षण नदेखिँदा पनि दिनभरि हार्ट रेट जाँचिरहन्छन् । यस्तो अवस्थामा चिन्ता बढ्नु स्वाभाविक हो । अझ वियरेबलबाट आएको स्वास्थ्य डेटा देखेर केहीले अनलाइन खोज्न थाल्छन् वा एआई च्याटबोटसँग स्वास्थ्यबारे सोध्न थाल्छन् । यतिबेला के उपयोगी हो र के हानिकारक हो भन्ने छुट्याउन गाह्रो हुन सक्छ । बीएमजेको हालैको एक अध्ययनले त लोकप्रिय एआई च्याटबोटको मेडिकल सल्लाह करिब ५० प्रतिशतसम्म गलत हुन सक्ने देखाएको छ ।

null

बारम्बार डेटा नहेर्नुहोस्

यदि स्वास्थ्य डेटा हेर्दा तनाव हुन्छ भने डिभाइस वा त्यस्ता एपहरू कम हेर्नु राम्रो हुन्छ । हरेक दिन होइन, हप्तामा एकपटक डेटा हेरेर पनि आफ्नो स्वास्थ्यको समग्र अवस्था बुझ्न सकिन्छ । यसो गर्दा तपाईं एउटै डेटा प्वाइन्टमा मात्र अत्यधिक केन्द्रित हुनबाट बच्नुहुन्छ ।

बिहान उठ्नेबित्तिकै वा राति सुत्नुअघि स्वास्थ्य डेटा चेक गर्ने बानीले पनि तनाव बढाउन सक्छ । आवश्यकता भन्दा बढी प्रयोग गर्नु सधैं हानिकारक हुन्छ, डेटा हेर्ने मामिलामा पनि यही लागू हुन्छ । वियरेबल्सले धेरै सिग्नल क्याप्चर गर्छन्, तर ती सबैलाई हामी सही अर्थमा बुझ्न सक्दैनौं, न त सबैमा विश्वास गर्नै मिल्छ । डेटा बदलिएको देखिँदैमा के तुरुन्त गर्ने भन्ने पनि स्पष्ट नहुन सक्छ । त्यसैले अनावश्यक डर पाल्नुभन्दा चिकित्सकसँग सल्लाह लिनु बढी बुद्धिमानी हुन्छ ।

स्वस्थ हुनुको अर्थ सबैका लागि एउटै हुँदैन । जीवनशैलीसँग जोडिएका धेरै कुरा, जस्तै भागदौड, अल्कोहल, ढिलो खानु, कम सुत्नु, स्वास्थ्यमा प्रभाव पार्छन् । त्यसैले कुनै एक असामान्य स्कोरमै भर पर्नुभन्दा, रिकभरी र स्लीप पाटर्नमा आएको परिवर्तन हेर्नु राम्रो हुन्छ ।

याद राख्नुहोस्, स्मार्टवाच जति नै स्मार्ट भए पनि त्यो डाक्टरको विकल्प होइन ।

null

वियरेबल्सलाई पर्सनल वेलनेस डिभाइसको रूपमा बुझ्नुहोस्

अधिकांश कन्ज्युमर वियरेबल्स पर्सनल वेलनेस डिभाइसकै रूपमा बनाइन्छन् । यिनलाई मेडिकल-ग्रेड डिभाइससँग तुलना गर्न मिल्दैन । यिनको मुख्य काम हार्ट रेट, रिदम, ब्लड अक्सिजन, स्ट्रेस, स्लीप र फिजिकल एक्टिभिटी ट्र्याक गर्नु हो, अन्तिम सत्य घोषणा गर्नु होइन ।

यद्यपि, केही नयाँ वियरेबल्समा मेडिकल-ग्रेड सेन्सर, सफ्टवेयर र एल्गोरिदम आउन थालेका छन्, जसले हार्ट रिदम, हाइपरटेन्सन र स्लीप एप्निया जस्ता अवस्थाको व्यवस्थापन अझ राम्रो बनाइरहेका छन् ।

वियरेबल्सको सही प्रयोग कसरी गर्ने ?

वियरेबल्सले हार्ट रेट, क्यालोरी बर्न, स्लीप स्कोर र स्टेप काउन्ट जस्ता उपयोगी जानकारी दिन्छन् । तर यी मेट्रिक्स दिनभरि बदलिइरहन्छन् । यिनमा अत्यधिक ध्यान दिन थालेपछि तनाव बढ्न सक्छ । बारम्बार डेटा जाँच्दा हाइपरभिजिल्यान्स बढ्छ ।

हार्ट रेट अलि बढ्यो भन्दैमा त्यसलाई सिधै रोगको संकेत मान्नु हुँदैन । त्यसले एउटा यस्तो चक्र सुरु गर्न सक्छ, जहाँ मानिस बारम्बार डिभाइस जाँच्न थाल्छ । चिन्ताले मुटुको धड्कन अझ बढ्छ, र फेरि जाँच गर्ने इच्छा जाग्छ ।

त्यसैले वियरेबल्सलाई क्षण–क्षणको पुष्टिका लागि होइन, ट्रेन्ड बुझ्नका लागि प्रयोग गर्नु राम्रो हुन्छ । डेटा निश्चित समयमा मात्र हेर्नुहोस् । बिहान धेरै छिटो वा राति धेरै ढिलो जाँच्ने बानीबाट बच्नुहोस् । लामो समयको पैटर्नमा ध्यान दिनुहोस् ।

यी सूचनालाई राम्रो सुताइ, बढी सक्रियता र स्वस्थ दिनचर्या बनाउन प्रयोग गर्नुहोस्, परफेक्ट स्कोर पाउन होइन । अनावश्यक अलर्ट बन्द गर्नुहोस्, र शरीरका वास्तविक संकेतहरू; जस्तै ऊर्जा, मूड, आरामलाई पनि उत्तिकै महत्त्व दिनुहोस् । यसले जागरूकता त बढाउँछ नै, शरीरमाथिको भरोसा पनि बलियो बनाउँछ ।

null

वियरेबल हेल्थ डेटा कसरी प्रयोग गर्ने ?

१. स्टेप काउन्ट र एक्टिभिटी

अक्सर १ दिनमा १० हजार कदम हिँड्नैपर्ने भनाइ सुनिन्छ । तर त्यो सम्भव छैन भने चिन्ता लिनु पर्दैन । २०२५ मा प्रकाशित एक मेटा-एनालिसिसअनुसार स्वस्थ रहन ७ हजार कदम पनि पर्याप्त हुन सक्छ । मुख्य कुरा सक्रिय रहनु हो । अलि टहल्नु पनि बसिरहनुभन्दा राम्रो हो ।

रेड फ्ल्याग:
यदि हिँड्दा जोर्नी दुख्छ वा सन्तुलन बनाउन गाह्रो हुन्छ भने डाक्टरसँग भेट्नुपर्छ ।

२. वर्कआउट र कार्डियो फिटनेस (वीओ २ म्याक्स)

वीओ २ म्याक्सले शरीरले अधिकतम कति अक्सिजन लिन र प्रयोग गर्न सक्छ भन्ने देखाउँछ । वर्कआउटका बेला वियरेबल्सले एक्सेलेरोमिटर, हार्ट रेट र जीपीएस प्रयोग गरेर यसको अनुमान गर्छन् । उमेर, लिङ्ग र तौलजस्ता विवरण पनि प्रयोग हुन्छन् ।

यो संख्या जति उच्च हुन्छ, मुटु र फोक्सो त्यति राम्रोसँग काम गरिरहेका हुन्छन् भन्ने बुझिन्छ, र तपाईं शारीरिक रूपमा फिट हुनुहुन्छ भन्ने संकेत दिन्छ ।

रेड फ्ल्याग:
यदि ट्र्याकरले निरन्तर कम स्कोर देखाउँछ, तौल धेरै छ, छिट्टै थकाइ लाग्छ भने यो कार्डियोभास्कुलर जोखिमको संकेत हुन सक्छ । यस्तो अवस्थामा हृदय स्वास्थ्यबारे डाक्टरसँग सल्लाह लिनु राम्रो हुन्छ ।

३. हार्ट रेट

वियरेबल्सले पीपीजी अर्थात् फोटोप्लेथिस्मोग्राफी प्रविधि प्रयोग गर्छन् । यसमा छालामा हरियो एलईडी प्रकाश फ्याँकिन्छ । मुटुले रगत पम्प गर्दा प्रकाश सोसिने दरमा आएको परिवर्तन मापन गरेर प्रति मिनेट धड्कन गणना गरिन्छ ।

सामान्य वयस्कमा आरामको अवस्थामा हार्ट रेट प्रायः ६० देखि १०० बिट्स प्रति मिनेट बीच हुन्छ । कम रेट राम्रो स्वास्थ्यको संकेत हुन सक्छ । महिलाहरूको रेस्टिङ हार्ट रेट अलि बढी हुन सक्छ, र बच्चाहरूमा यो १०० भन्दा माथि पनि हुन सक्छ । यदि हार्ट रेट लगातार धेरै उच्च, धेरै कम वा अनियमित रह्यो भने केही वियरेबल्सले अलर्ट दिन्छन् । व्यायाम गर्दा हार्ट रेट बढ्नु सामान्य हो ।

रेड फ्ल्याग:
यदि हार्ट रेट १०० बीपीएमभन्दा माथि लगातार रहन्छ र व्यायामपछि पनि सामान्य हुन धेरै समय लाग्छ भने डाक्टरसँग भेट्नुपर्छ ।

४. निन्द्रा

केही ट्र्याकरहरू निद्राको आधारभूत मूल्याङ्कनका लागि प्रयोग हुन्छन् भने केहीले धेरै सूचकका आधारमा स्लीप पाटर्न छुट्याउँछन् । एक्सेलेरोमिटर र पीपीजीले शरीरको गतिविधि र मुटुको धड्कनको ढाँचा पहिचान गर्छन्, त्यसैबाट गहिरो निन्द्रा, हल्का निन्द्रा वा आरईएम स्लीप (रापिड आई मूभमेन्ट- द्रुत आँखा आन्दोलन (REM) निद्रा एक महत्त्वपूर्ण, उच्च-क्रियाकलाप निद्रा चरण हो जसको विशेषता स्पष्ट सपना देख्नु, मस्तिष्कको गतिविधिमा वृद्धि र अस्थायी मांसपेशी पक्षाघात (एटोनिया) हो) को अनुमान लगाइन्छ । केहीले सास फेर्ने ढाँचा र ब्लड अक्सिजन स्तर पनि ट्र्याक गर्छन् ।

एआई र राम्रो डेटासेटहरू विकसित हुँदै जाँदा, निन्द्राको गुणस्तर पहिचान अझ सटीक हुँदै गएको छ ।

रेड फ्ल्याग:
यदि ट्र्याकरले राति बारम्बार निद्रा भंग भएको, सास फेर्न गाह्रो भएको देखाउँछ, पर्याप्त निद्रापछि पनि थकाइ महसुस हुन्छ वा सुत्ने बेला अक्सिजन स्तर कम देखिन्छ भने स्लीप टेस्टिङका लागि डाक्टरसँग सल्लाह लिनुपर्छ ।

null

५. ब्लड अक्सिजन (एसपीओ २)

वियरेबल्सले एसपीओ २ मापन गर्न एलईडी प्रयोग गर्छन् । रगतमा अक्सिजनको स्तरले फोक्सोले रगतमा कति अक्सिजन पुर्‍याइरहेका छन् भन्ने बताउँछ । यसमा रगतले रेड र इनफ्रारेड प्रकाश कसरी सोस्छ र परावर्तित गर्छ भन्ने आधारमा गणना गरिन्छ ।

एक मात्र रिडिङले धेरै कुरा नबताउन सक्छ, तर कुनै ट्रेन्ड देखियो भने उपयोगी हुन सक्छ । यद्यपि यो मेडिकल-ग्रेड पल्स अक्सिमिटरजति सटीक हुँदैन । तैपनि, बेसलाइन ब्लड अक्सिजन स्तर बुझ्न यो उपयोगी हुन सक्छ, ताकि आवश्यक परे डाक्टरसँग सल्लाह लिन सकियोस् ।

रेड फ्ल्याग:
यदि ब्लड अक्सिजन लगातार ९५ भन्दा कम छ, सास फेर्न गाह्रो हुन्छ वा ओठ तथा नङ निलो देखिन्छन् भने तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।

null

६. तनाव

अब वियरेबल टेक्नोलोजीले तनाव र रिकभरीको शारीरिक अवस्था पनि मूल्याङ्कन गर्न थालेको छ । उन्नत ट्र्याकरहरूले हार्ट रेट, त्यसको परिवर्तन र अन्य सूचकका आधारमा स्ट्रेस मोड र रेस्ट मोड चिन्हित गर्छन् ।

यदि तपाईं तनावग्रस्त हुनुहुन्छ भने यसले अलर्ट दिन सक्छ, जसले तपाईंलाई केही क्षण गहिरो सास लिन सम्झाउन सक्छ । तर यसले तनावको कारण के हो भनेर बताउँदैन- न त्यो सही हो, न गलत । केवल शारीरिक संकेत देखाउँछ ।

रेड फ्ल्याग:
यदि डिभाइसले लगातार तपाईंलाई तनावमा देखाइरहेको छ भने, त्यसका कारणहरू बुझ्न आवश्यक छ । यस्तो अवस्थामा डाक्टरसँग सल्लाह लिनु राम्रो हुन्छ ।