काठमाडौं । भी-चित्र प्रा.लि.ले एशियाकै प्रतिष्ठित मार्केटिङ प्लेटफर्ममध्ये एक १५ औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा जनसम्पर्क (PR) विधातर्फ उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ ।
गत अप्रिल ३० मा भारतको The Westin Mumbai Garden City मा आयोजित अवार्ड समारोहमा एशिया–प्रशान्त (APAC) क्षेत्रका अग्रणी एजेन्सी तथा ब्रान्डहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ग्राहक संलग्नता, सञ्चार तथा ब्रान्ड रणनीतिमा उत्कृष्ट योगदान पुर्याउने संस्थाहरूलाई सम्मान गरिएको थियो ।
भी-चित्रले विश्वव्यापी डिजिटल प्लेटफर्म TikTok सँगको सहकार्यमा सञ्चालन गरिएको ‘टिकटक फ्यामिली पेयरिङ’ अभियान मार्फत उल्लेखनीय सफलता हासिल गरेको हो । उक्त अभियानले ‘बेस्ट इन्टिग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ तथा ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको छ ।
नेपालमा २०२५ मा टिकटकमाथिको प्रतिबन्ध हटाइएपछि किशोर–किशोरीको डिजिटल सुरक्षाबारे बढ्दो चिन्तालाई सम्बोधन गर्न तयार गरिएको उक्त अभियानले अभिभावकीय नियन्त्रण सुविधा (Parental Control Feature) बारे जनचेतना फैलाएको थियो । अभियानमा सेलिब्रिटी, कन्टेन्ट क्रियटर, टेलिभिजन विज्ञापन तथा स्थानीय भाषाका सञ्चारमाध्यम प्रयोग गरिएको थियो ।
भी-चित्रका अनुसार अभियानले १४० भन्दा बढी मिडिया कभरेज, ३४ मिलियनभन्दा बढी क्रियटर भ्युज तथा ५.८ मिलियन इन्गेजमेन्ट हासिल गर्दै टिकटकलाई केवल मनोरञ्जन प्लेटफर्म नभई जिम्मेवार डिजिटल प्लेटफर्मका रूपमा स्थापित गर्न सहयोग पुर्याएको थियो ।
यसैगरी, ‘टिकटक सेफ्टी एम्बेसडर’ कार्यक्रममार्फत भी-चित्रले ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार हात पारेको छ । उक्त अभियानले नेपालमा टिकटक प्रयोगकर्तामाझ डिजिटल सुरक्षासम्बन्धी सचेतना फैलाउने काम गरेको जनाइएको छ ।
यी उपलब्धिसहित भी-चित्रले ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि समेत प्राप्त गरेको छ, जुन अवार्डको पब्लिक रिलेसन्सतर्फको सर्वोच्च सम्मान मानिन्छ । यस उपलब्धिले भी-चित्रलाई APAC क्षेत्रका उत्कृष्ट पीआर एजेन्सीहरूमध्ये स्थापित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस सफलतामा भी-चित्रको पीआर केन्द्रित सहायक संस्था मिडियाम्यानको पनि महत्वपूर्ण भूमिका रहेको थियो । सञ्चार रणनीति तथा मिडिया व्यवस्थापनमार्फत संस्थाले अभियान कार्यान्वयनमा सहयोग पुर्याएको बताइएको छ ।
यस उपलब्धिलाई नेपाली मार्केटिङ तथा सञ्चार उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा र नेतृत्व गर्ने क्षमताको संकेतका रूपमा हेरिएको छ ।
आईसीटी समाचार