कीवर्डहरू -

इन्डोनेसियामा सनवे कलेज काठमाडौं सम्मानित, जित्यो अन्तर्राष्ट्रिय अवार्ड

इन्डोनेसियामा सनवे कलेज काठमाडौं सम्मानित, जित्यो अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । सनवे कलेज काठमाडौंले कृत्रिम बुद्धिमत्ता (AI) शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्दै प्रतिष्ठित ‘ASOCIO Digital & AI Awards 2026’ अन्तर्गत ‘AI in Talent Development Award’ प्राप्त गरेको छ । उक्त पुरस्कार सन् २०२६ अक्टोबर ६ मा इन्डोनेसियाको जकार्तास्थित स्विसोटेल जकार्ता पीआईके एभिन्यूमा आयोजित समारोहमा प्रदान गरिएको हो ।

अक्टोबर ५ देखि ७ सम्म सञ्चालन भएको ASOCIO Digital & AI Summit 2026 अन्तर्गत आयोजित पुरस्कार वितरण समारोहमा एसिया तथा ओसिनियाका २४ देशका प्रविधि क्षेत्रका नेतृत्वकर्ता, नीतिनिर्माता, उद्योग विशेषज्ञ तथा नवप्रवर्तकहरूको सहभागिता रहेको थियो ।

सनवे कलेज काठमाडौंले कृत्रिम बुद्धिमत्तासम्बन्धी अनुसन्धान, विद्यार्थीको नेतृत्वमा विकसित एआई प्रोटोटाइप, नवीन प्रविधिमूलक परियोजना, व्यावहारिक एआई शिक्षा तथा उद्योगको आवश्यकताअनुसार दक्ष जनशक्ति विकासमा पुर्‍याउँदै आएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्राप्त गरेको हो ।

कलेजले ‘Creating AI Leaders’ अर्थात् ‘एआई नेतृत्वकर्ता निर्माण’ गर्ने आफ्नो दृष्टिकोणअनुरूप नेपाली विद्यार्थीलाई भविष्यमा आवश्यक पर्ने सीप प्रदान गर्दै प्रविधिको क्षेत्रमा नवीन सोच, सिर्जनशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्दै आएको छ । यस पहलले विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

एसियाली–ओसियानियाली कम्प्युटिङ उद्योग संगठन (ASOCIO) सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित क्षेत्रीय संस्था हो । यसले एसिया तथा ओसिनियामा डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ताको नवप्रवर्तन, प्रविधिगत सहकार्य र डिजिटल अर्थतन्त्रको विकासलाई प्रवर्द्धन गर्दै आएको छ ।

यस अन्तर्राष्ट्रिय समारोहमा सनवे कलेज काठमाडौंसहित नेपालका पाँच प्रविधिसम्बन्धी संस्थाहरू सम्मानित भएका थिए । यसले कृत्रिम बुद्धिमत्ता, डिजिटल शिक्षा र प्रविधि नवप्रवर्तनको क्षेत्रमा नेपालको बढ्दो सम्भावना तथा अन्तर्राष्ट्रिय उपस्थितिलाई उजागर गरेको छ ।

सनवे कलेज काठमाडौंले प्राप्त गरेको यो सम्मान नेपाली शैक्षिक क्षेत्रमा एआई शिक्षाको विकास र दक्ष जनशक्ति उत्पादनका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । साथै, यसले विद्यार्थीलाई अनुसन्धान, व्यावहारिक सिकाइ र प्रविधिमा आधारित समाधान विकास गर्न प्रोत्साहित गर्ने शैक्षिक पहलहरूको महत्त्वलाई समेत प्रतिबिम्बित गरेको छ ।