काठमाडौं । सर्वोच्च अदालतले न्यायिक सेवा प्रवाहलाई थप छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित अदालतबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
सोमबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार इजलासबाट जारी हुने अन्तरिम आदेश, कारण देखाउ आदेश तथा अन्य सबै प्रकारका आदेश (अन्तिम फैसला बाहेक) आदेश भएकै दिन अदालतको विद्युतीय प्रणालीमा उपलब्ध गराइनेछ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यस व्यवस्थाले मुद्दाका पक्ष, कानुन व्यवसायी तथा सम्बन्धित निकायलाई आदेशको जानकारी तत्काल प्राप्त गर्न सहज हुनेछ । उनका अनुसार अदालतको सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउने लक्ष्यका साथ यो व्यवस्था लागू गरिएको हो ।
यद्यपि, अन्तिम फैसला भने आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै तयार गरी सार्वजनिक गरिने सर्वोच्च अदालतले स्पष्ट पारेको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा न्यायिक प्रक्रियालाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धताअनुरूप सर्वोच्च अदालतले आदेश जारी भएकै दिन विद्युतीय प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
अदालतका अनुसार नयाँ प्रणाली लागू भएपछि आदेश प्राप्त गर्न अदालत धाउनुपर्ने अवस्था कम हुने, सूचना प्रवाहमा ढिलाइ घट्ने तथा न्यायिक प्रक्रिया अझ पारदर्शी र विश्वासयोग्य बन्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार