काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट कोषाध्यक्ष पदबाहेक अधिकांश पदाधिकारी र सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन् ।
नवनिर्वाचित कार्यसमितिमा उत्तम ब्लोन लामा वरिष्ठ उपाध्यक्ष बनेका छन् । यस्तै, उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक उपाध्यक्षमा निर्वाचित भएका छन् ।
अधिवेशनबाट पारित संशोधित विधानअनुसार बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई समेत उपाध्यक्षमा समावेश गर्ने व्यवस्था गरिएको छ, जससँगै उपाध्यक्षको संख्या सात पुगेको छ ।
महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी चयन भएका छन् । संशोधित विधानले कृष्ण घिमिरे र दीपक पौडेललाई समेत सचिव पदमा समावेश गर्ने व्यवस्था गरेको छ, जसअनुसार सचिवहरूको संख्या पनि सात पुग्नेछ ।
कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो, जसबाट शंकर बस्याल निर्वाचित भएका छन् । सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कँडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने चयन भएका छन् ।
अधिवेशनले इप्पानको विधान संशोधन गर्दै संस्थालाई थप समावेशी र लोकतान्त्रिक बनाउने निर्णयसमेत गरेको छ । संशोधित विधानअनुसार पाँच जना स्थायी आमन्त्रित सदस्य राख्न सकिने व्यवस्था गरिएको छ ।
यसका लागि इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेलको नाम प्रस्ताव गरिएको छ । यो व्यवस्था भने जिल्ला प्रशासन कार्यालयबाट संशोधित विधान स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले संस्थाभित्र सहमति, सहभागिता र समावेशितालाई बलियो बनाउने उद्देश्यले विधान संशोधन गरिएको बताए । उनका अनुसार नयाँ व्यवस्थाले विभिन्न पदमा प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्दै संस्थागत लोकतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार