कीवर्डहरू -

त्रिवि सेवा आयोगको नेतृत्वमा किशोर थापा, पद तथा गोपनीयताको लिए शपथ

त्रिवि सेवा आयोगको नेतृत्वमा किशोर थापा, पद तथा गोपनीयताको लिए शपथ

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा थापाले शपथ ग्रहण गर्नुभएको हो ।

यस अवसरमा त्रिवि सेवा आयोगकी नवनियुक्त सदस्य प्रा.डा. रेजिना मास्केलाई आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराउनुभयो । कार्यक्रममा शिक्षा मन्त्री पोखरेलको उपस्थिति रहेको थियो ।

किशोर थापालाई प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो । अध्यक्ष सिफारिस समितिले आवेदन, योग्यता, अनुभव तथा अन्तर्वार्ताको मूल्याङ्कनपछि तीन जनाको नाम सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा थापाको नियुक्ति गरिएको हो ।

शपथपछि प्रतिक्रिया दिँदै अध्यक्ष थापाले निष्पक्ष, इमानदार र निर्भीक ढङ्गले जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

थापाले त्रिविको गौरवशाली इतिहासलाई आत्मसात् गर्दै बदलिँदो समयका चुनौती सामना गर्न सक्षम, प्रभावकारी र आधुनिक विश्वविद्यालय निर्माणमा आफ्नो कार्यकाल केन्द्रित रहने विश्वास व्यक्त गर्नुभयो । साथै, सेवा आयोगको अध्यक्षजस्तो जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार प्रति आभार पनि व्यक्त गर्नुभयो ।

आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले सहरी विकास, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, साथै जल तथा ऊर्जा आयोग सचिवालयमा सचिवका रूपमा काम गर्नुभएको थियो ।

राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति तथा नेपाल पर्यटन वर्ष २०११ जस्ता नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा पनि उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्यका रूपमा योगदान दिएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा सहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध हुनुहुन्छ । आवास, सहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन तथा सार्वजनिक नीतिका क्षेत्रमा उहाँसँग लामो अनुभव रहेको छ ।