काठमाडौं । घरभित्रको हावा स्वच्छ र स्वस्थ राख्न एयर प्युरिफायरको प्रयोग बढ्दै गएको छ । विशेष गरी धुलो, धुवाँ तथा वायु प्रदूषणबाट बच्न यसको प्रयोग उपयोगी मानिन्छ । तर, एयर प्युरिफायरले प्रभावकारी रूपमा काम गर्न त्यसमा प्रयोग हुने फिल्टरको नियमित सफाइ र समयमै प्रतिस्थापन गर्नु आवश्यक हुन्छ ।
एयर प्युरिफायरका फिल्टरले हावामा रहेका धुलोका कण, परागकण, घरपालुवा जनावरका रौँ, छालाका साना कण तथा विभिन्न रासायनिक वाष्पलाई छानेर हटाउन मद्दत गर्छन् । तर, समय बित्दै जाँदा फिल्टरमा फोहोर जम्मा हुँदै जान्छ र हावा प्रवाह हुने बाटो साँघुरो बन्छ । यसले गर्दा प्युरिफायरको हावा शुद्ध पार्ने क्षमता घट्न सक्छ ।
फिल्टरमा फोहोर जमेर हावा प्रवाहमा अवरोध हुँदा मेसिनको पंखाले बढी मेहनत गर्नुपर्ने हुन्छ । यसले मोटरमा दबाब बढाउनुका साथै विद्युत् खपत समेत बढाउन सक्छ । बाहिरबाट हेर्दा मेसिन सामान्य रूपमा चलिरहेको देखिए पनि त्यसले पहिलेको जस्तो प्रभावकारी रूपमा हावा शुद्ध पारिरहेको नहुन सक्छ । त्यसैले फिल्टरको अवस्था जाँच गर्दै आवश्यकता अनुसार सफा गर्ने वा फेर्ने गर्नुपर्छ ।
एयर प्युरिफायरका विभिन्न फिल्टर कति समयमा फेर्ने ?
अधिकांश एयर प्युरिफायरमा हावालाई विभिन्न चरणमा शुद्ध पार्ने व्यवस्था हुन्छ । प्रत्येक फिल्टरको काम र प्रयोग अवधि फरक–फरक हुन्छ ।
१. प्रि-फिल्टर
प्रि-फिल्टरले हावामा रहेका धुलो, रौँ तथा अन्य ठूला कणलाई सुरुमा नै रोक्ने काम गर्छ । यदि यो धुन मिल्ने खालको छ भने प्रत्येक २ देखि ४ हप्तामा सफा गर्नुपर्छ । तर, एकपटक प्रयोग गरेर फाल्नुपर्ने प्रि-फिल्टरलाई सामान्यतया २ देखि ३ महिनामा फेर्नुपर्ने हुन सक्छ ।
२. एक्टिभेटेड कार्बन फिल्टर
यो फिल्टरले धुवाँ, दुर्गन्ध तथा वाष्पशील जैविक यौगिक (VOCs) जस्ता ग्यासलाई कम गर्न मद्दत गर्छ । समयसँगै यसको अवशोषण क्षमता घट्दै जाने भएकाले सामान्यतया ३ देखि ६ महिनामा फेर्नुपर्ने हुन सक्छ ।
३. HEPA फिल्टर
HEPA फिल्टरले हावामा रहेका अत्यन्तै मसिना धुलोका कण तथा अन्य सूक्ष्म कणलाई छान्ने काम गर्छ । सामान्य घरेलु प्रयोगमा यसलाई ६ देखि १२ महिनाको अवधिमा फेर्न सिफारिस गरिन्छ ।
केही उच्च गुणस्तरका वा मेडिकल ग्रेडका घरेलु HEPA फिल्टर भने १२ देखि १८ महिनासम्म टिक्न सक्छन् । यद्यपि, फिल्टरको वास्तविक आयु प्रयोगको अवधि, घरभित्रको प्रदूषण र हावाको गुणस्तरमा निर्भर गर्छ ।
फिल्टर फेर्नुपर्ने संकेत कसरी थाहा पाउने ?
फिल्टर फेर्ने समय क्यालेन्डरमा उल्लेख गरिएको अवधिले मात्र निर्धारण गर्दैन । मेसिन र फिल्टरको अवस्थाले पनि त्यसबारे संकेत दिन्छन् ।
फिल्टर इन्डिकेटर बल्नु: धेरैजसो एयर प्युरिफायरमा फिल्टर फेर्नुपर्ने समय जनाउने इन्डिकेटर हुन्छ । यसले निर्धारित समय वा हावा प्रवाहको अवस्थाका आधारमा संकेत दिन्छ । तर, टाइमरमा आधारित सूचनाले घरको वास्तविक प्रदूषण अवस्था सधैँ देखाउँदैन ।
फिल्टरको रङ परिवर्तन हुनु: नयाँ HEPA फिल्टर सामान्यतया सेतो रङको हुन्छ । प्रयोग गर्दै जाँदा यसको रङ गाढा खैरो वा कालो हुन सक्छ । फिल्टरमा बाक्लो धुलो तथा रौँ जम्मा भएको देखिएमा त्यसको अवस्था जाँच गर्नुपर्छ ।
हावा प्रवाह कमजोर हुनु: एयर प्युरिफायर उच्च गतिमा चलाउँदा पनि हावा निस्कने भागबाट पहिलेको तुलनामा कम हावा आउन थालेमा फिल्टरमा अवरोध भएको हुन सक्छ ।
दुर्गन्ध आउनु वा एलर्जीका लक्षण देखिनु: मेसिनबाट बासी गन्ध आउनु, कोठामा धुलो बढ्नु, पटक–पटक हाच्छ्युँ आउनु वा बिहान उठ्दा नाक बन्द हुने समस्या देखिनु फिल्टरको प्रभावकारिता घटेको संकेत हुन सक्छ ।
मेसिनबाट बढी आवाज आउनु: फिल्टरमा फोहोर जमेर हावा प्रवाहमा अवरोध हुँदा पंखा र मोटरमा दबाब बढ्न सक्छ । यसका कारण मेसिनबाट पहिलेभन्दा बढी आवाज आउन सक्छ ।
कुन अवस्थामा फिल्टर छिटो बिग्रिन्छ ?
सबै घरमा एयर प्युरिफायरको फिल्टर एउटै समयमा फेर्नुपर्छ भन्ने हुँदैन । केही विशेष अवस्थाले फिल्टरको आयु घटाउन सक्छन् ।
घर पालुवा जनावर हुनु: कुकुर, बिरालो लगायतका जनावरका रौँ र छालाका साना कण फिल्टरमा छिटो जम्मा हुन्छन् ।
चुरोट वा दाउराको धुवाँ: चुरोट तथा दाउराबाट निस्कने धुवाँका कणले कार्बन र अन्य फिल्टरलाई छिटो फोहोर बनाउन सक्छन् ।
वायु प्रदूषण बढी हुनु: ट्राफिक, औद्योगिक क्षेत्र वा वन डढेलोको धुवाँ प्रभावित क्षेत्रमा बसोबास गर्ने घरमा फिल्टर सामान्यभन्दा छिटो भरिन सक्छ ।
लामो समय उच्च गतिमा चलाउनु: एयर प्युरिफायरलाई दिनरात उच्च गतिमा सञ्चालन गर्दा फिल्टरमा धेरै मात्रामा प्रदूषक जम्मा हुन सक्छन् । यसले फिल्टरको आयु घटाउन सक्छ ।
फिल्टरको आयु बढाउन के गर्ने ?
एयर प्युरिफायरको फिल्टर लामो समयसम्म प्रभावकारी बनाउन नियमित रूपमा यसको अवस्था जाँच गर्नुपर्छ । धुन मिल्ने प्रि-फिल्टर लाई निर्माता कम्पनीले दिएको निर्देशनअनुसार सफा गर्नुपर्छ । HEPA तथा कार्बन फिल्टरलाई भने निर्माता कम्पनीको अनुमति र निर्देशनबिना धुनु हुँदैन । साथै, मेसिनको हावा भित्रिने र बाहिरिने भाग खुला राख्नुपर्छ ।
आईसीटी समाचार