कीवर्डहरू -

ह्वाट्सएपले आईओएस बेटामा थर्ड-पार्टी एजेन्ट च्याट्स परीक्षण गर्दै

ह्वाट्सएपले आईओएस बेटामा थर्ड-पार्टी एजेन्ट च्याट्स परीक्षण गर्दै

काठमाडौं । ह्वाट्सएपले आईओएस बेटा प्रयोगकर्ताका लागि ‘थर्ड-पार्टी एजेन्ट च्याट्स’ सुविधा परीक्षण गरिरहेको छ । नयाँ सुविधामार्फत प्रयोगकर्ताले ह्वाट्सएपमै आफ्नै एआई एजेन्ट वा बोट बनाएर त्यससँग कुराकानी गर्न सक्नेछन् ।

रिपोर्टअनुसार प्रयोगकर्ताले ह्वाट्सएपको सेटिङ्सबाट एजेन्ट तयार गर्न सक्नेछन् । एजेन्टको नाम र प्रोफाइल फोटो समेत राख्न सकिनेछ । त्यसपछि उक्त एजेन्टलाई एपीआई की (API Key) मार्फत बाह्य सेवासँग जोड्न सकिने व्यवस्था गरिएको छ ।

एजेन्ट तयार भएपछि ह्वाट्सएपले त्यसका लागि छुट्टै च्याट उपलब्ध गराउनेछ । सोही च्याटमार्फत प्राप्त एपीआई की कपी गरेर एजेन्ट सञ्चालन गर्ने बाह्य सेवामा राख्न सकिनेछ । बाह्य सेवासँग कनेक्ट भएपछि एजेन्टले ह्वाट्सएपमा पठाइएका सन्देशको जवाफ दिन सक्नेछ ।

प्रयोगकर्ताले आवश्यक परे एपीआई की रिसेट गर्नसमेत सक्नेछन् । ह्वाट्सएपमा एक प्रयोगकर्ताले अधिकतम पाँचवटासम्म थर्ड-पार्टी एजेन्ट बनाउन सक्ने व्यवस्था परीक्षणमा रहेको बताइएको छ ।

गोपनीयताको दृष्टिले भने एजेन्टलाई छुट्टै च्याटमा सीमित पहुँच दिइनेछ । एजेन्टले आफूलाई पठाइएको वा आफ्नै च्याटमा सेयर गरिएको जानकारी मात्र हेर्न सक्नेछ । अन्य व्यक्तिगत च्याट, कन्ट्याक्ट, फोटो वा भिडियोमा उसले पहुँच पाउने छैन ।

यद्यपि, थर्ड–पार्टी एजेन्टसँग गरिने कुराकानीमा एन्ड–टु–एन्ड इन्क्रिप्सन (End-to-End Encryption) उपलब्ध नहुने बताइएको छ । एजेन्ट विकास गर्ने डेभलपरले प्रयोगकर्ताले उक्त एजेन्टलाई पठाएका सन्देश हेर्न सक्नेछन् । यस्ता एजेन्ट एआईमा आधारित मात्र नभई सामान्य बोटसमेत हुन सक्नेछन् ।

हाल यो सुविधा सीमित आईओएस बेटा प्रयोगकर्ताका लागि मात्र परीक्षणमा रहेको छ । ह्वाट्सएपले सबै प्रयोगकर्ताका लागि यो सुविधा कहिलेदेखि उपलब्ध गराउने भन्नेबारे औपचारिक जानकारी दिएको छैन ।

यसअघि ह्वाट्सएपले एन्ड्रोइडका केही सीमित प्रयोगकर्ताका लागि पनि थर्ड–पार्टी एजेन्ट च्याट्स सुविधा परीक्षण सुरु गरेको रिपोर्ट सार्वजनिक भएको थियो । आईओएसमा समेत परीक्षण सुरु भएपछि कम्पनीले उक्त सुविधा आईफोन प्रयोगकर्तामाझ विस्तार गर्ने तयारी अघि बढाएको देखिएको छ ।