काठमाडौं । पिक्सेलपाउ ल्याब्सले ‘फेज’ नामक नयाँ वायरलेस माउस सार्वजनिक गरेको छ, जसलाई बीचबाट छुट्याएर दुई वटा गेमिङ कन्ट्रोलरका रूपमा प्रयोग गर्न सकिन्छ । चुम्बकीय (म्याग्नेटिक) जडान प्रणाली रहेको यो डिभाइसमा जोइस्टिक, बटन र ट्रिगरजस्ता गेमिङ सुविधा समेत समावेश गरिएको छ ।
फेज माउसमा १६,००० डीपीआईसम्मको अप्टिकल सेन्सर र १,००० हर्ज पोलिङ रेट रहेको बताइएको छ । यसलाई ब्लुटुथ वा २.४ GHz डोङ्गलमार्फत जडान गर्न सकिन्छ र एकैपटक तीन वटा डिभाइससँग पेयर गर्न मिल्छ । एकपटक चार्ज गर्दा करिव ७२ घण्टासम्म चल्ने ब्याट्री रहेको कम्पनीको दाबी छ ।
छुट्टिन मिल्ने डिजाइनका कारण यसमा परम्परागत स्क्रोल ह्विल भने छैन । त्यसको सट्टा स्क्रोल गर्न क्यापासिटिभ टच सतह प्रयोग गरिएको छ । माउस र कन्ट्रोलर दुबैमा काम गर्ने यो अनौठो डिजाइनले प्रयोगकर्तालाई फरक अनुभव दिने अपेक्षा गरिएको छ ।
पिक्सेलपाउ ल्याब्सले यो उत्पादनका लागि लगानी जुटाउने योजना पनि सार्वजनिक गरेको छ । यसको मूल्य करिव १५९ अमेरिकी डलर हुने अनुमान गरिएको छ । इच्छुक प्रयोगकर्ताले २० डलर फिर्ता गर्न मिल्ने डिपोजिट राखेर प्रिअर्डर गर्न सक्नेछन्, जसलाई पछि किकस्टार्टर योगदानमा क्रेडिट गरिनेछ । उत्पादनको डेलिभरी सन् २०२६ को अन्त्य वा २०२७ को सुरुवाततिर हुने अनुमान छ ।
आईसीटी समाचार