काठमाडौं । गुगलले मे महिनामा आयोजित आफ्नो वार्षिक गुगल आई/ओ डेभलपर सम्मेलनका क्रममा नयाँ एआई फिचरहरूको झलक देखाएको थियो । यी फिचरहरू जीमेल, गुगल डक्स र गुगल किपमा आउने अपेक्षा गरिएको छ । डेमोन्स्ट्रेसनका क्रममा कम्पनीले यी नवीन कन्भर्सेसनल फिचरहरू यसै वर्षको गर्मीयामको अन्त्यसम्म चरणबद्ध रूपमा रोलआउट गर्न सुरु गरिने पुष्टि गरेको थियो ।
अब औपचारिक सार्वजनिक सुरुवात हुनुअघि नै गुगलले यी नयाँ कन्भर्सेसनल एआई टुलहरूको जीमेल र गुगल किपमा परीक्षण गरिरहेको देखिएको छ । यी एआई सञ्चालित भ्वाइस फिचरहरू प्रयोगकर्ताले टाइप नगरी केवल आवाजमार्फत आदेश दिएर नोट व्यवस्थित गर्न र दैनिक कामहरू पूरा गर्न सकून् भन्ने उद्देश्यले विकास गरिएको हो । यी फिचरहरू आगामी पिक्सेल ११ सिरिजसँगै सार्वजनिक हुने सम्भावना छ ।
अमेरिकामा परीक्षण हुँदै नयाँ एआई फिचर
गुगल किप र जीमेलका यी कन्भर्सेसनल एआई फिचरहरूलाई नाइनटुफाइभगुगलले अमेरिकामा परीक्षणका क्रममा फेला पारेको हो । यसैबीच, एन्ड्रोइड अथोरिटी ले पनि कम्पनीको नोट्स एप गुगल किपमा लाइभ च्याट सुविधा सक्रिय गर्न सफल भएको जनाएको छ ।
प्रकाशनले सार्वजनिक गरेका स्क्रिनसट अनुसार एपमा पहिलेदेखि रहेको 'क्रिएट अ नोट' बटनको ठीक माथि लाइभ फ्लोटिङ एक्सन बटन (एफएबी) थपिएको छ । यसमा ट्याप गरेपछि आवाजमा आधारित इन्टरफेस खुल्छ, जहाँ प्रयोगकर्ताले टाइप गर्नुको सट्टा बोलेरै नयाँ नोट बनाउन वा पुराना नोट सम्पादन गर्न सक्छन् ।
यस इन्टरफेसबाट रिमाइन्डर पनि सेट गर्न सकिन्छ । यद्यपि, ती रिमाइन्डरहरू प्रत्यक्ष रूपमा गुगल टास्क्समा पठाइनेछन् । इन्टरफेसको तल्लो भागमा माइक्रोफोन म्युट गर्ने, भ्वाइस निर्देशन सबमिट गर्ने वा हालको भ्वाइस इनपुट क्यान्सिल गर्ने बटनहरू राखिएका छन् ।
जीमेलमा पनि उस्तै सुविधा
एक टेलिग्राम च्यानलले यस्तै आवाजमा आधारित इन्टरफेस जीमेलमा पनि उपलब्ध रहेको जनाएको छ । यो सुविधा हाल सीमित प्रयोगकर्ताका लागि मात्र परीक्षणमा रहेको अनुमान गरिएको छ ।
बोलेको कुरा आफैं नोट र सूचीमा रूपान्तरण
गुगलले गुगल आई/ओ २०२६ मा गुगल डक्स, जीमेल र गुगल किपका लागि कन्भर्सेसनल एआई फिचरको घोषणा गरेको थियो । यस अपडेट पछि गुगल किपले प्रयोगकर्ताले बोलेका शब्दलाई स्वतः व्यवस्थित नोट र सूची मा रूपान्तरण गर्नेछ ।
त्यस्तै, डक्स लाइभले आवाजमार्फत नयाँ आइडिया मा ब्रेनस्टर्म गर्न, पहिलो ड्राफ्ट तयार गर्न तथा डकुमेन्ट सुधार गर्न सहयोग गर्नेछ । प्रयोगकर्ताको अनुमति पाएपछि यसले जीमेल, गुगल ड्राइभ, गुगल च्याट र वेब बाट आवश्यक जानकारी पनि ल्याउन सक्नेछ।
अर्कोतर्फ, जीमेल लाइभ प्रयोगकर्ताको इनबक्स खोज्न र त्यससँग सम्बन्धित प्रश्नहरूको उत्तर दिन सक्षम हुने गरी तयार गरिएको छ ।
कहिले उपलब्ध हुन्छ ?
कम्पनीले यी नयाँ कन्भर्सेसनल एआई फिचरहरूको निश्चित रिलिज मिति भने सार्वजनिक गरेको छैन । तर, यस वर्षको गर्मीयामदेखि अमेरिकामा गुगल एआई प्रो, गुगल एआई अल्ट्रा तथा एन्ड्रोइड र आईओएसमा योग्य वर्कस्पेस प्रयोगकर्ताका लागि यी सुविधा चरणबद्ध रूपमा रोलआउट गर्न सुरु गरिने पुष्टि गरेको छ ।
यी नयाँ एआई टुल हरू आगामी पिक्सेल ११ सिरिज सार्वजनिक हुने समयतिर सबैका लागि उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार