कीवर्डहरू -

उद्यमशीलता प्रवर्द्धनमा नबिल एसएसई, फेलोसिपका लागि आवेदन आह्वान

उद्यमशीलता प्रवर्द्धनमा नबिल एसएसई, फेलोसिपका लागि आवेदन आह्वान

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन खुला गरेको छ ।

बैंकले नबिल एसएसई फेलोसिपको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको हो । सामाजिक तथा आर्थिक प्रभाव सिर्जना गर्ने उद्यमशील सोच भएका १८ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुनेछ । बैंकका अनुसार फेलोसिपको अवधि ६ महिना रहनेछ । छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति जनाउनुपर्नेछ ।

त्यस्तै, तीन महिनाको सर्टिफिकेट कोर्स विद्यार्थी, प्रारम्भिक चरणका उद्यमी तथा सूक्ष्म र साना व्यवसायीलाई लक्षित गरिएको बैंकले जनाएको छ । कार्यक्रममा सहभागीले उद्यम विकास तथा विस्तारका लागि आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने अवसर पाउनेछन् ।

व्यवसायिक अवधारणा विकास, उद्यम व्यवस्थापन, व्यवसाय मोडल निर्माण, व्यावहारिक सिकाइ, विशेषज्ञबाट मार्गदर्शन, सफल उद्यमीसँग अन्तरक्रिया तथा व्यावहारिक अनुभव कार्यक्रमका प्रमुख पक्ष रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार सन् २०२१ देखि सञ्चालनमा रहेको नबिल एसएसईबाट हालसम्म १ हजार ५८० भन्दा बढी सहभागी लाभान्वित भइसकेका छन् । कार्यक्रमका सहभागीले ३१८ वटा उद्यम स्थापना गरेको र १९ हजार ३०३ जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना गरेको बैंकको दाबी छ ।

इच्छुकले नबिल बैंकको वेबसाइट www.nabilbank.com मा रहेको नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सेक्सनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असोज २६ गते अर्थात् अक्टोबर १२, २०२६ रहेको बैंकले जनाएको छ ।