काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड दिएको बताउनुभएको छ ।
`ईन्टरनेट गभर्नेन्स इन्सिच्युट´ (आईजीआई) ले आयोजना गरेको १७ औं `एसिया प्यासिफिक रिजनल ईन्टरनेट गभर्नेन्स फोरम २०२६´ को समापन समारोहलाई सम्बोधन गर्नु हुँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल प्रविधिले नागरिकको शिक्षा, सञ्चार, व्यवसाय, सार्वजनिक सेवा तथा सार्वजनिक जीवनमा सहभागितालाई सहज बनाउँदै गएको बताउनुभयो ।
उहाँले नेपालको भौगोलिक विविधताका कारण विशेषगरी ग्रामीण, दुर्गम र हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार चुनौतीपूर्ण भए पनि सरकारले यसलाई प्राथमिकतामा राखेको बताउनुभयो । इन्टरनेटको पहुँच विस्तारसँगै सेवाको गुणस्तर, विश्वसनीयता र सबलता सुनिश्चित गर्न पनि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
“डिजिटल रूपान्तरणको उद्देश्य देशलाई डिजिटल बनाउनु मात्र नभै डिजिटल प्रविधिमार्फत नागरिकको जीवनमा सुधार ल्याउनु पनि हो,” सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो । उहाँले इन्टरनेटको पहुँच मात्र विस्तार गरेर नपुग्ने बताउँदै नागरिकले आवश्यक परेको समयमा भरपर्दो र गुणस्तरीय सेवा पाउनुपर्नेमा जोड दिनुभयो ।
व्यवसायका लागि विश्वसनीय सञ्जाल, सार्वजनिक सेवाका लागि निरन्तर सञ्चार तथा विपद्का समयमा समेत सञ्चालनमा रहने सञ्चार प्रणाली आवश्यक रहेको उहाँले बताउनुभयो । सञ्चारमन्त्री तिमिल्सिनाले हालैको रसुवा भोटेकोशी–त्रिशूली विपद्ले सञ्चार पूर्वाधारको महत्व थप उजागर गरेको उल्लेख गर्नुभयो ।
सडक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त हुँदा, समुदाय एकअर्काबाट अलग हुँदा र उद्धार तथा राहतमा समन्वय आवश्यक पर्दा सञ्चार सेवा अत्यावश्यक हुने उहाँको भनाइ थियो ।
उहाँले डिजिटल प्रविधिबाट ग्रामीण क्षेत्रका विद्यार्थीले विश्वभरको ज्ञानमा पहुँच पाउन सक्ने, किसानले बजार तथा मौसमसम्बन्धी सूचना प्राप्त गर्न सक्ने र साना उद्यमीले स्थानीय सीमाभन्दा बाहिरका बजारमा पहुँच बनाउन सक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
सरकारले आगामी दिनमा डिजिटल पहुँचसँगै डिजिटल समावेशिता, साइबर सुरक्षा, विश्वसनीयता र विपद् प्रतिरोधी सञ्चार प्रणाली विकासमा समेत ध्यान दिने सञ्चारमन्त्री तिमिल्सिनाले बताउनुभयो ।
आईसीटी समाचार