कीवर्डहरू -

दसैँका लागि आयो सहज व्यवस्था, एटिएमबाटै १०० का नयाँ नोट पाइने

दसैँका लागि आयो सहज व्यवस्था, एटिएमबाटै १०० का नयाँ नोट पाइने

काठमाडौं । यस वर्षको दसैँसहितका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत रु १०० दरका नयाँ नोट एटिएमबाटै उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटिएममार्फत रु १०० दरका नोट वितरण सुरु गरेका छन् । यससँगै सर्वसाधारणले बैंकको काउन्टरमा लामो लाइन बस्नुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार चाडपर्वका बेला नयाँ नोट वितरणलाई विगतमा जस्तो विशेष प्रचारप्रसार नगरी सर्वसाधारणलाई सुकिला तथा सफा नोट सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

उनका अनुसार असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने काम भइरहेको छ ।

प्रवक्ता पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएका कारण यस वर्ष दसैँका लागि नयाँ नोट वितरणसम्बन्धी विशेष प्रचारप्रसार नगर्ने नीति लिइएको बताए । उनका अनुसार नोट सटही तथा सफा नोट उपलब्ध गराउने काम बैंकिङ प्रणालीको नियमित प्रक्रियाअन्तर्गत पनि हुने भएकाले त्यसलाई सहज रूपमा अघि बढाइएको हो ।

राष्ट्र बैंकले पछिल्ला चार–पाँच वर्षदेखि चाडपर्वमा ठूलो मात्रामा नयाँ नोट बजारमा पठाउने परिपाटीलाई क्रमश: घटाउँदै लगेको छ । नयाँ नोटको सट्टा सुकिला तथा सफा नोट प्रयोग गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको हो ।

राष्ट्र बैंकका अनुसार गत भदौ ३१ गतेसम्म मुलुकमा रु ७ खर्ब ९४ अर्ब बराबरको मुद्रा चलनचल्तीमा रहेको थियो । दसैँका बेला उक्त रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्न सक्ने अनुमान राष्ट्र बैंकको छ ।

यस वर्ष भने सर्वसाधारणलाई नयाँ नोटकै लागि बैंकमा पुग्नुपर्ने अवस्था कम गर्न रु १०० दरका नोट एटिएमबाटै उपलब्ध गराउने व्यवस्था गरिएको छ ।