काठमाडौं । लामो समयदेखि लिनक्स प्रयोगकर्ताले प्रतीक्षा गरिरहेको च्याटजीपीटीको आधिकारिक डेस्कटप एप अन्तत: सार्वजनिक भएको छ । ओपनएआईले लिनक्स अपरेटिङ सिस्टमका लागि च्याटजीपीटी एपको प्रिभ्यु संस्करण जारी गर्दै आफ्नो लोकप्रिय एआई सेवालाई सबै प्रमुख डेस्कटप प्लेटफर्ममा विस्तार गरेको हो ।
यसअघि च्याटजीपीटी विन्डोज र म्याक प्रयोगकर्ताका लागि उपलब्ध भए पनि लिनक्सका लागि छुट्टै एप नहुँदा प्रयोगकर्ताले वेब ब्राउजरमार्फत मात्र सेवा लिनुपर्थ्यो । ओपन सोर्स समुदायबाट लामो समयदेखि आएको मागपछि कम्पनीले लिनक्स संस्करण सार्वजनिक गरेको हो ।
ओपनएआईले मंगलबार जारी गरेको जानकारीमा लिनक्स डेस्कटप एप सबैभन्दा धेरै माग गरिएका प्लेटफर्ममध्ये एक रहेको उल्लेख गरेको छ । कम्पनीका अनुसार अब च्याटजीपीटी र कोडेक्स प्रमुख सबै डेस्कटप अपरेटिङ सिस्टममा उपलब्ध भएका छन् ।
नयाँ एपमार्फत लिनक्स प्रयोगकर्ताले च्याटजीपीटी, च्याटजीपीटी वर्क तथा कोडेक्स जस्ता सेवाहरू सीधै डेस्कटपबाट प्रयोग गर्न सक्नेछन् । प्रिभ्यु संस्करणका रूपमा सार्वजनिक गरिएको एप विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ ।
हालका लागि ओपनएआईले केही प्रमुख लिनक्स डिस्ट्रिब्युसनलाई आधिकारिक रूपमा समर्थन गरेको छ । तीमध्ये उबुन्टु २४.०४ र २६.०४ एलटीएस, डेबियन १३ तथा फेडोरा ४३ र ४४ समावेश छन् । यी डिस्ट्रिब्युसनहरू अन्य धेरै लिनक्स संस्करणका आधार भएकाले एपले व्यापक लिनक्स वातावरणमा काम गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
लिनक्स डेस्कटप एप सार्वजनिक गर्ने दौडमा भने ओपनएआई प्रतिस्पर्धी एन्थ्रोपिकभन्दा केही पछि परेको छ । एन्थ्रोपिकले एक महिनाअघि नै आफ्नो एआई सहायक क्लाउडको लिनक्स संस्करण सार्वजनिक गरिसकेको थियो ।
क्लाउडको एप उबुन्टु २२.०४ वा सोभन्दा नयाँ तथा डेबियन १२ वा सोभन्दा पछिल्ला संस्करणमा चल्ने व्यवस्था गरिएको छ । नयाँ एप सार्वजनिक भएसँगै लिनक्स प्रयोगकर्ताले पनि अब वेब ब्राउजरमा निर्भर नरही च्याटजीपीटीलाई सिधै डेस्कटपबाट सहज रूपमा प्रयोग गर्न सक्ने भएका छन् ।
आईसीटी समाचार