नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार र नियमित अनुगमनलाई प्रविधिसँग जोड्दै पालिकाभित्रका सबै माध्यमिक विद्यालयलाई डिजिटल प्रणालीमा आबद्ध गरेको छ ।
गाउँपालिकाले सामुदायिक तथा धार्मिक माध्यमिक विद्यालयमा शिक्षक तथा कर्मचारीको अनलाइन हाजिरी, विद्यालय परिसरको सीसीटीभी निगरानी र शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) लागू गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार डिजिटल प्रणाली लागू भएपछि शिक्षक तथा कर्मचारीको उपस्थिति व्यवस्थित रूपमा अभिलेख राख्न तथा विद्यालयका शैक्षिक र प्रशासनिक गतिविधिको नियमित अनुगमन गर्न सहज हुनेछ ।
विद्यालयमा प्रविधिमा आधारित व्यवस्थापन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न गाउँपालिकाले शिक्षक तथा कर्मचारीलाई ईएमआईएसका विभिन्न सुविधाबारे तालिम समेत दिएको छ ।
गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित गर्ने उद्देश्यले डिजिटल प्रणाली लागू गरिएको बताए ।
उनका अनुसार गाउँपालिकाले विद्यालयमा मात्र नभई आफ्नै प्रशासनिक कामकाजलाई समेत क्रमश: कागजरहित प्रणालीमा रूपान्तरण गरिरहेको छ । पहिलो चरणमा सूचना प्रविधि, शिक्षा र प्रशासन शाखामा डिजिटल कार्यप्रणाली सुरु गरिएको उनले जानकारी दिए ।
स्थानीय तहमै करदाता सेवा
नरैनापुर गाउँपालिकाले करसम्बन्धी सेवा लिन स्थानीयवासीलाई अन्यत्र जानुपर्ने बाध्यता कम गर्न स्थानीय तहमै केही सेवा उपलब्ध गराउन थालेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगन्जसँग सम्झौता गरेपछि गाउँपालिकाले स्थायी लेखा नम्बर (प्यान) तथा करचुक्ता प्रमाणपत्रलगायतका करदाता सेवा पालिकाबाटै उपलब्ध गराउन थालेको जनाएको छ ।
गाउँपालिकाका अनुसार डिजिटल प्रविधिको प्रयोगलाई शिक्षा र प्रशासनमा सीमित नराखी क्रमश: समग्र सेवा प्रवाहमा विस्तार गर्ने योजना छ । डिजिटल प्रणालीको विस्तारसँगै सेवा प्रवाहलाई छिटो, व्यवस्थित र पारदर्शी बनाउने तथा कार्यालय र विद्यालयका गतिविधिको अभिलेख तथा अनुगमनलाई प्रभावकारी बनाउने गाउँपालिकाको लक्ष्य छ ।
आईसीटी समाचार